काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आत्मघाती बम बिस्फोटको घटनामा परी मारिएका १२ नेपालीको पहिचान खुलेको छ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार घटनामा परी अहिलेसम्म मृत्यु हुने १२ नेपालीको पुष्टि भएको र अन्य दुई नेपाली हुन् या विदेशी भन्ने यकिन विवरण आउन सकेको छैन ।
मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले काबुल घटनामा मृत्यु भएका १२ नेपालीको पहिचान खुलेको जानकारी दिनुभयो ।
घटनामा परी मुत्यु हुनेमा सुनसरीका अकुल तामाङ, काठमाडौँका क्रमशः चन्द्रबहादुर रानामगर, हरिबहादुर बडवाल क्षेत्री र विदुरबहादुर सुवेदी क्षेत्री, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, स्याङ्जाका सुपबहादुर गुरुङ, पर्वतका नवीनसिंह क्षेत्री, चितवनका कृष्णबहादुर ढुङ्गाना र बुटवलका जितेन्द्रसिंह थापा रहेका छन् । रासस






