लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने सबैभन्दा ठुलो इभेन्टका रुपमा चिनिने गोर्खाकप आज आइतवार आयोजना हुदैछ ।
अल्डर्सटको क्वीन्स एभिन्यू स्पोर्ट सेण्टरमा आयोजना हुदै गरेको यो प्रतियोगितामा यसवर्ष नन भेट्रानमा ३२ र भेट्रानतर्फ १० टोलीबीच प्रतिस्पर्धा हुदैछ ।
तमु धी यूकेले हरेक वर्ष गर्ने गोर्खा कपको यो वर्ष १४ औं संस्करण हो । यस पटक विजेताहरुलाई दिइने पुरस्कारको राशी पनि बढाएर अहिलेसम्मकै सबैभन्दा ठुलो बनाइएको छ ।
नन भेट्रान समुहका बिजेतालाई नगद २ हजार पाउण्ड र उपबिजेतालाई १ हजार पाउन्ड सहित ट्रफी र सर्टिफिकेट प्रदान गरिनेछ भने भेट्रान समुहमा बिजेता र उपबिजेतालाई नगद १ हजार पाउण्ड र ७ सय पाउण्डका साथमा ट्रफी र सर्टिफिकेट पुरस्कार दिइनेछ ।
त्यस्तै म्यान अफ द म्याचलाई नन भेट्रान समुहमा ट्रफी र ४ सय पाउण्ड बराबरको सुनको प्लेट भएको सर्टिफिकेट र भेट्रान समुहमा ट्रफी र नगद १ सय पाउण्ड्को पुरस्कार छ ।
बिहान साढे ९ बजे देखि नै प्रतियोगिता सुरु गराउने र साझ साढे ७ बजेसम्म कार्यक्रम समापन गर्ने आयोजकको योजना छ ।
कार्यक्रमका संयोजक क्या पिताम्बर गुरुंगका अनुसार गोर्खाकपमा यस वर्ष ४० वटा आर्ट एण्ड क्राफ्ट्का स्टल, १० वटा खानाका स्टलका साथै विभिन्न च्यारिटि स्टल पनि रहनेछन ।
कार्यक्रममा प्यारासुट जम्प, तेक्वान्दो प्रदर्शनका अलावा गोर्खा ब्रिगेड व्यान्डको विसेष प्रस्तुति पनि रहनेछ ।
कार्यक्रममा झन्डै १० हजार दर्शक सहभागी हुने अपेक्षा छ ।







