लन्डन– गैर आवासीय नेपाली संघको आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने नवौं क्षेत्रीय युरोपेली बैठक र सातौं महिला सम्मेलनका लागि तयारी तीब्र भएको छ ।
एनआरएनए युरोप संयोजक कुल आचार्यको संयोजकत्वमा क्षेत्रीय बैठक तयारी समिति बनेको छ । आर्थिक संकलन लगायतका सम्पुर्ण कार्यहरु तदारुकताका साथ अघि बढाइएको बताइएको छ । संयोजक आचार्यका अनुसार युरोपका विभिन्न देशहरुबाट सहभागीहरुले टिकट तथा होटल बुकिङ गर्ने कार्य भइरहेको छ ।
सहभागीहरुको सुविधाका लागि यसपाली कोपेनहेगन एअरपोर्टको छेवैमा रहेको सुविधासम्पन्न हिल्टन होटलमा बैठक गर्न लागिएको संयोजक आचार्यले जानकारी दिए ।
आधुनिक प्रविधिहरुको अधिकतम प्रयोग गर्दै यसपाली सहभागीहरुको दर्ता समेत अनलाइनमा गर्न सकिने सप्टवेयरको विकास गरिएको र सबै एनसिसिहरुमा अनलाइन दर्ताको लिंक पठाईएको आचार्यले बताए ।
यता बेलायतबाट पनि यसपालीको युरोप क्षेत्रीय बैठकमा उत्साहजनक सहभागीता रहने क्षेत्रीय बैठक, डेनमार्कका लागि युके प्रतिनिधिहरुका संयोजक तथा आइसिसि सदस्य संगीता मरहट्टाले जनाएकी छन् । अहिलेसम्म ७० जनाले बैठकमा भाग लिनका लागि नाम टिपाइसकेको र यसपाली दोस्रो पुस्ताका भाइबहिनीहरुको पनि राम्रो सहभागीता रहने मरहट्टाले बताएकी छिन् ।
युरोप संयोजक कुल आचार्यले युरोपेली क्षेत्रीय बैठक युरोपका एनसिसिहरुका जल्दाबल्दा समस्याहरुमा केन्द्रित रहने भएकाले अधिकतम रुपमा सबैले भाग लिई एनसिसिहरुमा रहेका समस्याहरुबारे बृहत छलफल गर्न सबैलाई आग्रह गरेका छन् ।
एनआरएनए महिला संयोजक सपिला राजभण्डारीले यस पटकको सातौं युरोपेली महिला सम्मेलनका लागि महिलाहरुसँग भएको बैठक र छलफलबाट एनआरएनए महिला फोरमले यसअघि नै उठाइरहेका चार मुख्य एजेन्डाहरुलाई नैं मुख्य एजेन्डाका रुपमा लैजाने निधो गरिएको बताइन् ।
ती चार एजेन्डाहरुमा एक युरो परियोजना, युटेरिन प्रोल्याप्स परियोजना, महिला सशक्तिकरण र विदेशमा रहेका महिलाहरुका लागि सेफ हाउस रहेका छन् । यी मुख्य चार एजेन्डाहरुलाई अन्य सम्मेलनहरुमा पनि साझा एजेन्डाका रुपमा लैजाने निर्णय गरिएको र डेनमार्कमा हुँ गरेको महिला सम्मेलनका लागि सबै एनसिसिका महिला संयोजकहरु, सिनियरहरु र महिला आइसिसि सदस्यहरुबीच अझै छलफल चलिरहेको राजभन्डारीले बताएकी छन् ।
क्षेत्रीय बैठक आयोजक कमिटि सचिवालयका सदस्य सचिव तथा डेनमार्कबाट एनआरएनए आईसीसी सदस्य सोम सापकोटाले गत बर्ष नेपालमा गएको महाभुकम्पका कारण युरोप क्षेत्रीय बैठक स्थगित भएको तर सो अवसर पुन डेनमार्कलाई नैं मिलेकोले सबैजना अति उत्साहित रहेको बताए । डेनमार्कजस्तो महंगो ठाउंमा अत्यन्त कम खर्चमा अति व्यवस्थित कार्यक्रम गर्नका लागि हरतरहबाट प्रयास गरिएको उनले बताए ।
यसपालिको युरोप क्षेत्रीय बैठकमा युवा सम्बन्धि मुद्धाहरुमा पनि छलफल हुनेछन् । एनआरएनएका युवा उप संयोजक लोकराज शर्माले युवाहरुका बिषयमा पनि सेसनहरु हुने र ती सेसनमा सामाजिक उद्यमशीलता र युवाहरुलाई पुननर्निमाणमा सहभागीजस्ता बिषयहरुमा छलफल चलाइने बताए ।
एनआरएनए एनसीसी डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले नवौं क्षेत्रीय सम्मेलनलाई भव्य बनाउनका लागि एनआरएनए डेनमार्कको सम्पुर्ण टिम लागिपरेको र स्थानीय स्तरमैं कमिटिहरु बनाएर काम भइरहेको बताएका छन् ।
युरोप क्षेत्रीय बैठकका लागि अर्को तयारी साइबर बैठक यही जुन ५ तारिखमा हुने तय भएको छ ।







