लण्डन- चर्चित गायक शिव परियार र गायिका शर्मिला बर्देवा लन्डनमा सांगीतिक कार्यक्रमसहित प्रस्तुत हुने भएका छन् ।
मे २७ मा लण्डनको हाउन्सलोस्थित फेल्थम कम्युनिटी कलेजमा ‘शिव र शर्मिलासँग एक साँझ’ आयोजना हुने भएको छ । रेडियो राइनो र अन्सु इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको रकम लमजुङमा बालबालिकाको शिक्षाका लागि खर्च गरिने आयोजकका तर्फबाट दिनेशुकमार परियारले जानकारी दिए ।
नेपाली नया वर्ष मनाउने क्रममा बेलायत आएका शिव परियारले विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिएका छन् । केही साता अघि मात्र पोल्याण्डमा भएको कन्सर्ट सकेर बेलायत आइपुगेका शिवले लण्डनका श्रोताहरुलार्इ कार्यक्रममा आउन आग्रह गरे ।
लन्डनको प्रस्तुतिमा शिवले ‘पागल बनायौ प्रिय…, ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले…, ‘क्या दामी भो…, ‘अलिकति नजर तिम्रो…, लगायतका उत्कृष्ट गीतहरु गाउने छन् ।
सपरिवार लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाले ‘आँखैमा झल्झली…, ‘फुलको जवाफ…, ‘तस्बिरमै यस्तो…, जस्ता सुमधुर गीतहरुका साथै नयाँ गीत पनि प्रस्तुत गर्ने बताइन् ।
कार्यक्रमको उद्घोषण भने मिस यू के नेपाल २०१३ कि बेजेता दुर्गा गुरुङले गर्ने भएकी छिन । सागमा नेपाली मौलिक परम्परागत नृत्य र डीजे चाँदले विशेष सांगीतिक प्रस्तुति दिनेछन् ।






