प्रतिपक्षीले सरकार टिकाउने भूमिका निर्वाह गर्दैन : सभापति देउवा

sher-bahadur-deuwaलुम्बिनी (रुपन्देही)- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका’ विषयको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनताका समस्या एकातिर छन्, संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ, मधेसका समस्या समाधान गर्नु परेको छ तर सरकार भने गम्भीर नदेखिएकाले काँग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको छ ।’’

केन्द्रीय सदस्य बालकृष्ण खाँडले नेपाली काँग्रेस, लोकतन्त्र र तराईबीच अन्योन्यास्रित सम्बन्ध रहेकाले तराईको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्ने दाबी गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य गगन थापाले मधेसी जनताले उठाएको जायज मागलाई सही रुपमा सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो प्रशिक्षणमा केन्द्रीय सदस्य थापा, विश्वप्रकाश शर्मालगायतले प्रशिक्षण दिनुहुनेछ ।