प्रेम सुनार
गुल्मी, जेठ २ । वेलायतमा कार्यरत गुल्मेलीहरुले बडागाउँको दजाकोट र माझागाउँका अग्नी पिडितहरुलाई संस्थागत रुपमा अहिले सम्मकै सवै भन्दा ठुलो रकम सहयोग गरेका छन् ।
वेलायतमा क्रियाशिल गुल्मी जिल्ला समाज युकेले आज बडागाउँको दजाकोट पुगेर स्थानिय अग्नी पिडित सहयोग संकलन समितिलाई एक समारोहका विच १२ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त रकम प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको रोहवरमा गुल्मी जिल्ला समाज युकेका प्रतिनिधी कृष्ण ढकाल, दुर्गा रानाले स्थानिय समितिलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख भोला रावल, गुरुगोरख गुल्मका गुल्मपति महेन्द्रकुमार पुन, आशा अपाङ्ग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे कोषाध्यक्ष तारा भुसाल,आशा अपाङ्ग केन्द्रका सञ्चालक समिति सदस्य गणेश श्रीपाली, पत्रकार घनश्याम गौतम, प्रेम सुनार, महिला तथा वालवालिका अधिकृत प्रतिभा पन्थी, महिला अधिकारकर्मी निर्मला केसी लगायतको सहभागीता थियो ।
कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका प्रतिनिधी कृष्ण ढकालले समाजको तर्फबाट सम्पुर्ण अग्नी पिडितहरु प्रति सहानुभुती प्रकट गर्दै दजाकोट र माझागाउँका अग्नी पिडितहरुलाई केहि राहत पुराउन सकियोस् भन्ने उद्देश्यले समाजका सवै पदाधिकारी र सदस्यहरु सहयोग संकलनमा जुटेको बताएका थिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी ढकालले अग्नी पिडित र सम्पुर्ण जिल्लावासीको तर्फकाट गुल्मी जिल्ला समाज युकेले गुल्मीका हरेक क्षेत्रमा गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए । त्यस्तै स्थानियवासीको तर्फबाट त्यहाँका समाज सेवी हरिप्रसाद छन्त्यालले समाजका सकल परिवारप्रति कृतज्ञता जाहेर गरेका थिए ।
पहिलो पटक त्यहाँका अपाङ्गहरुमा दृष्टी पुग्यो
त्यहाँका सपाङ्ग अग्नी पिडितहरु राहत संकलन तथा वितरण समिति रहेको स्थान दजाकोटको पशुपति निम्न माध्यामिक विद्यालयमा आउथे । पेय पदार्थदेखि अनेक खाने कुराहरु समितिका मानिसहरुले दिन्थे र उनिहरुले खान्थे ।
तर ति अग्नी पिडितहरु मध्ये कतिपय अपाङ्गहरु त्यस स्थानमा आउन सक्दैन्थे । उनिहरु परिावारले ल्याई दिए खाने नत्र टुलुटुलु हेर्थे । आगोलागीले घर गोठहरु जलेर सपाङ्गहरु समेत न गास न वास भएर याकुलव्याकुल भई रहेका थिए सुरुका दिनहरुमा भने झन ति अपाङ्गहरुको अवस्था के भएको होला ? त्यस तर्फ कसैको ध्यान गएको थिएन् । तर गुल्मी जिल्ला युके समाजले पहिलो पटक ति अग्नी पिडित अपाङ्गहरुप्रति दृष्टी पुरायो ।
उसले तम्घासस्थित आशा अपाङ्ग केन्द्र संग रायसुझाव मागेर जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल विच त्यसवारे बैठक राख्न आग्रह ग¥यो ।
केन्द्रकी प्रवन्धक गंगा रायमाझीले ति अग्नी पिडित परिवारका अपाङ्गहरुको विवरण र अवस्थावारे अवगत गराईन र उनिहरुलाई वेग्लै किशिमले सहयोग गर्न विशेष जोड पनि दिईन् । अन्ततः गुल्मी जिल्ला समाज युकेले पुनः बैठक राख्यो र संकलन भएको कुल रकम १२ लाख १० हजार मध्येबाट २ लाख १० हजार रुपैयाँ त्यहाँका अपाङ्गहरुलाई सहयोग गर्ने निर्णय ग¥यो ।
फलतः आज दजाकोटमा त्यहाँका ६ जना अग्नी पिडित परिवारका अपाङ्गहरुलाई जनही ३५ हजारका दरले नगद सहयोग गरियो । उनिहरु खुशीले गद्गद थिए । कोही लौराको साहरामा त कोही परिवारका सदस्यहरुको सहारामा आएका उनिहरुले त्यस राहत संकलन स्थल समेत पहिलो पटक देख्न पाए ।

बडागाउँ गाविस सचिव यमकान्त पौड्याल, १२ हजार १० रुपैयाँको चेक हस्तान्तरण गर्दै समाजको प्रतिनिधी र सिडियो लगायत कोही वोल्न र कान सुन्नै नसक्ने , कोही हिड्न र शरिर सम्हाल्न नसक्ने उनिहरुलाई पहिलो पटक बेग्लै सहयोग गरिएको प्रति निकै सह्रानिय कार्य भएको त्यहाँका समाज सेवी हरिप्रसाद छन्त्यालको प्रतिकृया थियो । उनिहरुको तर्फबाट उनका परिवारजनले सहयोगी संस्था गुल्मी जिल्ल समाज युके र त्यसका लागि पहल गर्ने आशा अपाङ्ग केन्द्र प्रति पनि आभार प्रकट गरे ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले पत्रकारहरुलाई ईङ्गित गर्दै भन्दै थिए–‘ल हेर्नुहोस् तपाईहरुले भनेको कुरा त आज पुरा भयो नि हैन् ?’ उनले अग्नी पिडितहरु मध्येका लक्षित वर्ग छुट्याउन बडागाउँ गाविस सचिव यमकान्त पौड्याललाई निर्देशन दिदै भने–‘अव यसरी नै सवै भन्दा बढि पिडित , सवै भन्दा बढि गरिव र असाहय छान्नु पर्दछ । ’
गुल्मी जिल्ला समाज युकेका महासचिव शिव भण्डारी भन्छन–‘ यस सम्वन्धमा हामीले समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा १३ तारिखका दिन टेलिफोन कन्फ्रेन्स बैठक राख्यौं र पठाएको कुल रकम मध्येबाट २ लाख १० हजार त्यहाँका अपाङ्गहरुलाई सहयोग गर्ने निर्णय गरेका हौं । ’
महासचिव भण्डारीले सञ्चालन गरेको बैठकमा अध्यक्ष गलामी सहित उपाध्यक्षद्धयः टोप पल्ली, राजन खरेल , कोषाध्यक्ष तारा भण्डारी र सह–कोषाध्यक्ष राम सापकोटको आकस्मिक बैठकले यस्तो निर्णय गरेको बताईएको छ ।
त्यहाँबाट अध्यक्ष राम गलामी लगायतका पदाधिकारी र सदस्यहरुले दजाकोटमा आगोलागी भएको दिन देखि आफुहरुको ध्यान सहयोग संकलनमै केन्द्रित गरिरहेका थिए । फलस्वरुपः अहिले सम्म कै ठुलो सहयोग रकम जुटाउन र विशेषतः उनिहरुले त्यहाँ कष्टकर जिवन विताई रहेका ६ जना अपाङ्गहरुको ठुलो कल्याण गर्न सफल भएका छन् ।
आशा अपाङ्ग केन्द्रका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा कोषाध्यक्ष तारा भुसालको सञ्चालन रहेको थियो । यस विच गुल्मी जिल्ला समाज युकेका प्रतिनिधीले आजै आशा अपाङ्ग केन्द्रको अवलोकन गरी संस्थाको कार्यशैलीबाट प्रभावित भई कृष्ण ढकालले ६ हजार र दुर्गा रानाले ५ हजार नगद सहयोग गरेका छन् ।
shrot:gulminews.com







