काठमाडौँ- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय गठबन्धनले संविधानमा मधेसी, थारु, अल्पसङ्ख्यक, मुस्लिमलगायतका मागलाई नसमेटेको भन्दै विरोध प्रदर्शन गरेको छ ।
गठबन्धनमा आबद्ध विभिन्न राजनीतिक दलका नेताको अगुवाइमा आज शान्तिवाटिकादेखि पुरानो बसपार्क, सहिदगेट, इन्द्रचोक, नयाँसडक, विशालबजार, असन, ठमेल हुँदै सञ्चयकोष अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका संयोजक उपेन्द्र यादवले मधेसी जनताको भावनालाई सरकारले उपेक्षा गरेकाले आन्दोलनमा जानुपरेको बताउनुभयो ।
उहाँले मधेसी, थरुहट, लिम्बुवान, जनजाति आन्दोलनलाई निमिट्यान्न पार्न खोजेकाले आन्दोलन गर्न बाध्य हुनुपरेको बताउनुभयो । उहाँले मधेसी दलले उठाएको मागलाई सम्बोधन नगरे आन्दोलन जारी राख्नेसमेत बताउनुभयो ।
सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसमा गरेको आन्दोलनको सुनुवाइ नभएकाले राजधानी केन्द्रित आन्दोलन गर्न लागेको स्पष्ट पार्नुभयो । उहाँले मोर्चालाई बेवास्ता गरेर अघि बढे देश दुर्घटनातर्फ जान सक्ने बताउनुभयो ।






