प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

rajendra chhetriकाठमाडौँ- प्रधानसेनापति राजेन्द्र क्षत्री डेढ साताको अमेरिकाको औपचारिक भ्रमण पूरा गरी बिहीबार राति स्वदेश फर्कनुभएको छ ।

प्रधान सेनापति स्वदेश फर्कनु हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी लगायतका उच्च सैनिक अधिकारीहरुले स्वागत अभिवादन गर्नुभएको थियो ।

सो अवसरमा सेनाको टुकडीले प्रधान सेनापतिको सम्मानमा सम्मान गारत प्रदान गरेको थियो ।

अमेरिकी सेनाको कमान्ड एण्ड जनरल स्टाफ कलेज, फोर्ट लिभेनवर्थ, कान्सास र वार कलेज, कार्लिस्ले ब्यारेक, पेन्सिलभेनियामा इन्टरनेसनल फेल्लोज हल अफ फेम इन्डक्सन (इएचओएफ) समारोहमा भाग लिन प्रधान सेनापति यही वैशाख १२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

अमेरिकी सेनाका शिक्षण संस्थाले त्यहाँबाट शिक्षा लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्री सम्मान ग्रहण गर्न जानुभएको हो ।

यी दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेसनल हल अफ फेममा सम्मानित हुने उहाँ नेपाली सेनाको पहिलो प्रधानसेनापति हुनुहुन्छ ।

अमेरिका भ्रमणमा रहँदा प्रधानसेनापतिले त्यहाँका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृत र संयुक्त राष्ट्रसङ्घका पदाधिकारीसँग भेटवार्ता गर्नुभयो ।

प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सम्बन्धलाई थप प्रगाढ र सुदृढ तुल्याएको नेपाली सेनाले विश्वास लिएको छ ।