घुम्नै पर्ने सहरमा काठमाडौं २३औं नम्बरमा, सिड्नीसमेत पछाडि

kathmanduकठमाडौं- विश्वभरमा घुम्नका लागि उत्कृष्ट गन्तव्यमा दक्षिण एसियाका सहरलाई पछि पार्दै काठमाडौं विश्वको २३औं स्थानमा परेको छ । यात्रासम्बन्धी विश्वको सबैभन्दा ठूलो ट्राभल अनलाइन पोर्टल ट्रिप एड्भाइजरले काठमाडौंलाई ट्राभलर च्वाइस अवार्ड–२०१६ वाट समेत सम्मानित गरिसकेको छ ।

काठमाडौंले ऐतिहासिक सहर अस्ट्रेलियको प्रमुख सहर सिड्नीलाई समेत पछाडि पारेको छ । सिड्नी काठमाडौंभन्दा एक स्थान तल २४औंमा परेको छ । बेलायतका राजकुमार प्रिन्स ह्यारीको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको अस्ट्रेलियाबाट निस्कने अनलाइन साउथ एसिया डटकमडटएयूले टिप्पणी गरेको छ ।

विश्वमा सर्वोत्कृष्ट गन्तव्य हुनका लागि होटेल, रेस्टुराँको समीक्षा, मूल्यांकन र आकर्षणको मात्रा प्रयोग गरेर १२ महिनामा पर्यटकसँगको अन्तरक्रियामा आधारित रहेर विश्वका उत्कृष्ट गन्तव्यको छनोट गरिएको ट्रिप एड्भाइजरले जनाएको छ ।

हरेक वर्ष ट्रिप एड्भाइजरले संसारका उत्कृष्ट गन्तव्यको सूची सार्वजनिक गर्छ । ट्रिप एड्भाइजरले गत महिना पनि नेपाललाई पर्यटकको उत्कृष्ट गन्तव्यको सूचीमा राखेको थियो । ट्रिप एड्भाइजरले विश्वभरका करोडौं पर्यटकको सिफारिसमा उत्कृष्ट गन्तव्यको घोषणा गर्छ ।

उत्कृष्ट १ नम्बरमा गत वर्षदेखि बेलायतको लन्डन सहर नै छ । टर्कीको राजधानी स्तानबुल दोस्रोमा परेको छ । त्यसपछि क्रमशः मोरक्को, पेरिस, कम्बोडिया, चेक रिपब्लिक, इटालीको रोम, भियतनाम, न्युयोर्क र इन्डोनेसिया छन् । त्यस्तै जापानको राजधानी टोकियो, पेरुको कुस्को एक्काइसांै र बाइसौं स्थानमा रहेका छन् । अस्ट्रेलियाको राजधानी सिड्नी र हंगेरीको बुडापेस्टलाई पछाडि पार्दै काठमाडौं तेइसौं स्थानमा रहन सफल छ । यो सूचीमा नेपालबाहेक कुनै पनि दक्षिण एसियाली मुलुकका सहर परेका छैनन् ।