‘यस वर्षको वर्षातमा पनि पीडितले ओत नपाउने सङ्केत’

earthquakeकाठमाडौँ- व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुले आगामी बजेट अधिवेशनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा बोलाउनुभएको बैठकमा दलका नेताहरुले संसद्लाई प्रभावकारी बनाउने, भूकम्पपछिको पुनःनिर्माण वर्षा अगावै सक्ने र मधेस समस्याका विषयमा संयुक्त गठबन्धनले उठाएका जायज माग सम्बोधन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावकारी काम गर्न नसक्दा यस वर्षको वर्षातमा पनि पीडितले ओत नपाउने सङ्केत देखिएको बताउनुभयो ।

“पुनःनिर्माणका लागि जम्मा भएको सहयोग परिचालन गरेर क्षति भएका संरचना बनाउन ढिला भएको छ, सरकार अझै स्वयम्सेवक परिचालनको रट लगाएर पुनःनिर्माणलाई ओझेलमा पार्दैछ, दलका तर्फबाट पुनःनिर्माणका लागि आवश्यकता अनुसार स्वयम्सेवक परिचालन गर्न हामी तयार छौँ”–उहाँले भन्नुभयो । बजेट आउनुपूर्व घनीभूत छलफल गरेर आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन पनि सभापति देउवाले सरकारसँग माग गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले आगामी संसद् अधिवेशन र भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी बनाउने तथा मधेसमा आन्दोलनरत दलसँग वार्ताका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

“यी विषयमा सुझाव सङ्कलन गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो, नियमावली बनाउन सबै दलको सहमति आवश्यक भएकाले छलफलबाट निष्कर्षमा पुग्न उहाँले दलहरुलाई आग्रह गर्नुभयो”–उहाँले भन्नुभयो ।