सप्तरीमा तीन युवाको अवस्था अज्ञात

saptariराजविराज- सप्तरीमा तीनजना युवा वर्षौंदेखि अज्ञात अवस्थामा रहेको बताइएको छ । पछिल्लो पटक तीन वर्षयता सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–२ सकरदही निवासी सञ्जय मैरता यादव बेपत्ता रहेको उनका परिवारजनले जनाएका छन् ।

तीन वर्षअगाडि सञ्जयसँग सामान्य पारिवारिक झगडा भएपछि घरबाट निस्केका उनी हालसम्म घर नफर्केको उनका बुबा लक्ष्मण मैरताले बताउनुभयो । जेठा छोराका रुपमा रहेका सञ्जय लामो समयदेखि नफर्केकाले अहिले परिवारजनमा दिनरात रुवावासी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, सप्तरीको विषहरिया गाविस–३ का २० वर्षीय रमेश यादव नौ महिनादेखि बेपत्ता भएका छन् । रमेश गत असार महिनामा आफनो घरबाट मोटरसाइकल चढेर सदरमुकाम राजविराज गएका तर हालसम्म उनको अवस्था अज्ञात नै रहेको परिवारजनले बताएका छन् ।

साथै, जिल्लाको मानराजा गाविस–२ का एक युवा पनि महिनादिनदेखि बेपत्ता छन् । स्थानीयवासी कृष्णचन्द्र झाका १५ वर्षीय छोरा आलोक झा गत चैतमा साइकल चढेर घरबाट निस्केदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

आलोक राजविराजको दुर्गा बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्र हुन् । बेपत्ता भएका परिवारजनले स्थानीय प्रहरी, प्रशासन र मानवअधिकारकर्मीलाई जानकारी गराएपनि हालसम्म खोजी कार्य हुन नसकेको पीडित परिवारले गुनासो गरेका छन् ।

यसैबीच, सप्तरीका विभिन्न ठाउँबाट बेपत्ता भएका युवाको तीव्ररुपमा खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक सुरज खडकाले बताउनुभयो ।