जुम्ला- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तत्काल काँग्रेस नेतृत्वमा सरकार बन्ने कुनै आधार नभएको स्पष्ट पार्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल जुम्लाद्वारा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो “काँग्रेसले गिराउँदैमा सरकार गिर्दैन । यो सरकार संसद्को बहुमत र जनताको म्यान्डेटबाट बनेकाले कसैले गिराउँदैमा गिर्ने, कसैले ढाल्दैमा ढल्ने खाले होइन । सरकारले जनताको चाहनाअनुसार काम गरेरै छाड्छ । अब काँग्रेसलाई सरकारमा सहभागी गराई राष्ट्रिय स्वरुप दिने विषयमा छलफल अघि बढ्छ । त्यसका लागि म पहल गर्छु ।”नेता दाहालले थप्नुभयो “अहिले काँग्रेससँग यो सरकारमा सहभागी हुनुको विकल्प छैन । काँग्रेसले पनि यही सरकारमा आएर संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ ।”
उहाँले संविधान घोषणा गर्न एक भएका प्रमुख राजनीतिक दल यसको कार्यान्वयनका लागि पनि एक हुन आवश्यक रहेकामा जोड दिँदै प्रमुख प्रतिपक्षी दल काँग्रेस सहित मधेसवादी दल एकै थलोमा आएर सहमतिमा संविधान कार्यान्वयनका लागि ऐन बनाउनतर्फ आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।