लन्डन- भूकम्पले भत्किएका दोलखा जिल्लाका स्वास्थ्य संस्था पुनर्निर्माणका लागि बेलायतमा च्यारिटी डिनरको कार्यक्रम आयोजना गरिएको छ । च्यारिटी कार्यक्रममा एशोसिएसनआबद्ध स्वास्थ्यकर्मीहरुका अलावा यहांस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरु गरी झण्डै २ सय जनाको सहभागिता रहने अपेक्षा छ ।
कार्यक्रमको संयोजन गरिरहेका डा सचिन गुरुंगका अनुसार कार्यक्रमको पहिलो चरण औपचारिक रहनेछ । जसमा एशोसिएसनकी अध्यक्ष डा बिना सुब्बाको मन्तव्य रहनेछ भने त्यहि चरणमै पोसिबल नेपालले दोलखाको स्वास्थ्य क्षेत्रमा पुरयाइरहेको सहयोगसम्बन्धी एक भिडियो प्रिजेन्टेसन प्रस्तुत गरिनेछ ।
दोस्रो चरणमा डिनर र त्यसपछि सांस्कृतिक कार्यक्रमको पालो छ । त्यसक्रममा लोकप्रिय एक्सिस ब्याण्डका गायक सन्दिप विक र मिस यूके नेपाल निआ देवानको गायन विशेष आकर्षणका रुपमा रहनेछन । त्यसबाहेक अन्य केहि नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरु पनि देखाइनेछ ।
कार्यक्रममा सहयोग संकलनका लागि राफल ड्र तथा अक्सन पनि राखिनेछ । च्यारिटी डिनरबाट न्यूनतम ५ हजार पाउण्ड संकलन गर्ने लक्ष्य आयोजकको छ । जसमध्ये एशोसिएसनले ताप्लेजुंगमा प्रदान गरेको एक एम्बुलेन्सको सञ्चालनका लागि ५ सय पाउण्ड प्रदान गर्ने योजना छ भने बांकी सबै रकम पोसिबल नेपाललाई दिइनेछ ।






