२०७३ लाई महवर्ष घोषणा गरिँदै

honeyजाजरकोट- यस जिल्लालाई मह वर्ष घोषणा गर्ने तयारी थालिएको छ ।

जाजरकोटमा मह उत्पादन राम्रो हुँदाहुँदै पनि व्यावसायिक रूपमा यसलाई विकास गर्न २०७३ साललाई मह उत्पादन वर्ष घोषणा गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यहाँको नवौँ जिल्ला परिषद्ले मह वर्ष घोषणा गर्ने निर्णयसमेत गरिसकेको छ । डाँडागाउँ, खलङ्गा, लहँ र खगेनकोटलगायत गाविसमा मौरीको मह उत्पादन निकै राम्रो रहेको छ । मौरीपालनलाई रोजगारीको मुख्य आधार बनाउँदै युवालाई आयआर्जनमा संलग्न गराउन यो घोषणाले निकै सहयोग गर्ने अपेक्षा गरिएको छ ।

जाजरकोटमा चिउरी प्रशस्तै मात्रामा पाइने भएकाले मौरीपालन व्यवसायलाई अझै बढाउन सकिने जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।
जैविक विविधताको संरक्षकसमेत भएकाले मौरीपालन व्यवसाय बढाएर आयआर्जन गर्न मौरीपालक किसानलाई जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ । मौरीको महबाट जिल्लाका व्यावसायिक किसानले वार्षिक रु छ लाखसम्मको आम्दानी गर्ने गरेका छन् ।

जाजरकोटका किसानले उत्पादन गरेको मह अमेरिका, जापान, बेलायत, भारतलगायत विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । मह वर्ष घोषणा भएपछि मह पकेट क्षेत्रका मौरीपालक किसान उत्साहित भएका छन् । यस वर्षमात्र जाजरकोटमा ३९ दशमलव ८ मेट्रिकटन मह उत्पादन भएको छ ।