काठमाडौं- एमालेको बिहीबार बसेको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र पार्टी नेतृत्वको आलोचना भएको छ । माधवकुमार नेपाल पक्षले सरकारले जनताको पक्षमा चित्तबुझ्दो काम गर्न नसकेको गुनासो गरिरहेका बेला ओलीले भइरहेका सकारात्मक कुरालाई गलत ढंगले व्याख्या नगर्न नेतालाई आग्रह गरेका छन् ।
बालुवाटारमा बसेको बैठकमा एक नेताले मन्तव्य व्यक्त गरेपछि ओलीले जवाफ दिएका थिए । ओलीले समसामयिक विषयमा बुधबार उठाइएको प्रश्नको जवाफ दिएका हुन् । पोलिटब्युरो सदस्य डा. वंशीधर मिश्रले अध्यक्ष ओलीको जवाफ आएपछि सरकार र नेतृत्वको आलोचना अघिल्लो दिनको तुलनामा कम भएको जनाए ।
बिहीबारको बैठकमा लालबाबु पण्डित, बिन्दा पाण्डे, यमलाल कँडेल, भानुभक्त ढकाल, गणेश तिम्सिना, अरुण नेपाल, परशुराम मेघी गुरुङसहित ९ जनाले बोलेका थिए । कँडेलले नेतृत्वले जिम्मेवारी पाएका व्यक्तिको कामको समीक्षा र मूल्यांकन गरिनुपर्नेमा जोड दिएका थिए । ‘ओलीले आफूले कसैलाई भेदभाव नगरेको बताउनुभयो र कतै त्यस्तो भए भोलिका दिनमा पनि छलफल गरिने बताउनुभयो,’ ओलीको जवाफ सम्झँदै मिश्रले भने, ‘विषम परिस्थितिमा सरकार गठन भएकाले पनि समस्या भएको उहाँको भनाइ थियो, कालोबजारी नियन्त्रणको विषयमा गम्भीर छु भन्नुभयो ।’
मंगलबारबाट सुरु भएको बैठकमा बुधबार उपाध्यक्ष युवराज ज्ञवाली, उप–महासचिव घनश्याम भुसाल, श्रीमाया थकाली, गंगालाल तुलाधर, नगेन्द्रप्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार ४ बजे बस्ने गरी बैठक स्थगन गरिएको थियो । अधिकांश नेताले सरकारको कमजोरीको विषयमा प्रश्न उठाएका थिए ।
मधेस आन्दोलनसँगै प्रदेशको संघीय संरचना निर्माणको विषयमा बैठक बढी केन्द्रित थियो । २७ गतेबाट केन्द्रीय समिति बैठक बस्ने एमालेले तय गरेको छ तर मिश्रले भने तयारी नपुगेकाले केन्द्रको बैठक १ दिन सर्न सक्ने बताए । पार्टीको विधानअनुसार हरेक ३ महिनामा बस्नुपर्ने एमालेको पोलिटब्युरो बैठक ८ महिनादेखि बस्न नसकेको एमाले नेताले बताए ।






