अरुसँग किन होली खेलेको भन्दै श्रीमानले कुटेपछि…

holi_danceमहोत्तरी- ‘‘अरुसँग किन होली खेलेको’’ भन्दै श्रीमान्ले कुटेपछि बिजलपुरा–९ मा एक महिला इनारमा हाम फाल्न पुग्दा घाइते भएकी छिन् ।

स्थानीय कान्छा भनिने घनश्याम महतोले आफ्नी ३० वर्षीया श्रीमती कौशिलादेवी महतोलाई बुधबार अरुसँग रङ खेलेको भन्दै कुटपिट गर्दा सहन नसकेर ती महिलाले ६० फिट गहिरो इनारमा हाम फालेको हाथिलेट प्रहरी चौकीले जनाएको छ ।

घर नजिकै सौदागर पासमानको इनारमा महिलाले हाम फालेकी हुन् । इनारमा खसेकी महिलालाई गाउँलेले डोरीको सहरामा १५ मिनेटभित्रै उद्धार गरेका थिए ।

हात्तीलेट चौकीका प्रहरी नायब निरीक्षक दीपबहादुर बस्नेतसहितको गएको प्रहरी टोलीले घाइते महिलालाई बर्दिवासस्थित शुभस्वस्ति अस्पतालमा उपचारका लागि पठाएको छ । महिलाको शरीरको अङ्गमा गहिरो चोट देखिन्छ ।

आफूसँग पहिला होली नखेलेर अरुसँग खेलेको भन्दै मदिरा सेवन गरेका घनश्यामले श्रीमती कुटेका स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बिजलपुरा–९ का छठु महतो र विजलपुरा–४ का दिलीप महतोले कौशिलालाई रङ लगाई दिएका थिए । दिलीप महतोका अनुसार आफूहरु गाउँकी भाजु नातामा पर्ने उहाँलाई सोधेरै रङ लगाएको बताएका छन् ।