प्रधानमन्त्री चीनबाट फर्केपछि कांग्रेस सरकारमा आउँछः नेपाल

madhav nepalसल्यान- नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि कांग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताउनुभएको छ ।

देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल सल्यान शाखाले मंगलबार बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ ।’

नेता नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको दाबी गर्दै चीन भ्रमण पनि उपलब्धिपूर्ण हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशमा लामो समयसम्म रहेको नाकाबन्दी प्रधानमन्त्री भारत भ्रमणपछि खुलेको छ, उहाँको चीन भ्रमण पनि देशका लागि छिमेकीसँगको सम्बन्ध र उन्नतिका लागि उपलब्धिपूर्ण हुने छ ।’