शिब भण्डारी-
लन्डन- सर्लाहीको हरिवनस्थित घर्कयौली चेतना समूहले सञ्चालन गरिरहेको द्वन्द्व पीडित अनाथ बालगृहलाई सहयोग गर्न बेलायतमा च्यारिटी कार्यक्रम हुने भएको छ ।
१०६ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एनआरएन यूके महिला फोरमले वालगृह र बालबालिकालाई सहयोग गर्न महिला दिवस च्यारिटी कार्यक्रम’ आयोजना गरेको हो ।
अल्डरसटस्थित एम्पायर ब्याङक्वेटिङ हलमा भोलि मार्च ५ मा दिउँसो १ देखि आठबजेसम्म हुने कार्यक्रममा सहभागी हुन एनआरएन अन्तर्राष्ट्रिय महिला सह-संयोजक रजनी प्रधान शुक्रवार लन्डन आइपुगेकी छन् ।
आयोजकले च्यारिटीमा उपस्थित भएर मानवीय सहयोगमा सहभागिता जनाउन कार्यसमिति, सल्लाहकार, आईसीसी सदस्यहरु तथा बेलायतस्थित महिलावादी र अन्य संघ संस्थालाई अपिल गरेको छ ।
यसै क्रममा यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवस ‘हिमाल पहाड तराईको एउटै नारा – सम्बृद्ध समाज निर्माणमा महिलाको अभिभारा’ भन्ने मूल नाराको साथ अल्डसर्टको किंग्स सेन्टर मा भोली दिउँसो १ देखि आठबजेसम्म हुने कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी सदस्य सुष्मा राईले अपिल गर्नुभएको छ । राईका अनुसार कार्यक्रम सरल र मितब्ययी बनाउँदै संकलित रकम सिराहा हरिवनका द्वन्द्व कालमा आमा-बाबु गुमाएका ती असहाय बाललिकाको लालन-पालनमा सहयोग गर्ने उदेश्य रहेको छ ।
एनआरएनए आईसीसी सदस्य तथा एनआरएनए यूकेका पूर्व महिला संयोजक संगीता मरहठ्ठाले नारी दिवसप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उक्त कार्यक्रमको सफलताको कामना प्रकट गर्नुभएको छ । आफू महिला संयोजक रहेको वर्ष नै कार्यक्रमको सुरुवात गरिएको बताउँदै उहाँले यसको सफलतामा आफूलाई गर्व लाग्ने बताउनुभयो । उहाँले कार्यक्रमको सफलताको कामना सहित उपस्थित भएर मानवीय सहयोगमा सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।
एनआरएन यूके महिला संयोजक सुशीला राईले तराई मधेसको विपन्न समूदायका बालबालिका आश्रित अनाथालयको सहयोग सँगै यस पुनित कार्यमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा सो कार्यक्रममा सहभागी भएर आर्थिक सहयोग र प्रचार प्रसार गरि सहयोग गर्नु अपिल गर्नुभयो ।
एनआरएन यूके महिला फोरम सह-संयोजक इशा गुरुङ भन्नुहुन्छ. ‘सकिन्छ अलि ठूलै, सकिन्न सानै भए पनि, तपाईं र तपाईको परिवार-नजिकको साथी उपस्थित भएर अथवा व्यवसायिक कारणले भ्याउनु हुँदैन भने हामी आयोजकलाई प्रोत्साहन गरेर भए पनि यस कार्यलाई सफल बनाउन यहाँको योगदान र साथ महत्वपूर्ण हुने छ !
साथै एनआरएन युके महिला उपाध्यक्ष शान्ति कुँवर मगर तथा एनआरएन महिला फोरम उप संयोजक प्रतिमा केसीले पनि सबैलाई अन्तरराष्ट्रिय महिला दिवस सफल पार्न तथा मानवीय सेवाको पावन अवसरमा होस्टेमा हैंसे गर्न हार्दिक निमन्त्रणा गर्नु भएको छ ।







