भित्र बन्दसत्र : बाहिर प्रचार तीव्र

congress23काठमाडौँ- भृकुटीमण्डपको प्रदर्शनी हलमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनको बन्द सत्र चलिरहँदा बाहिर प्रदर्शनी मार्गमा उम्मेदवारको प्रचारप्रसार तीव्र बनेको छ ।

महाधिवेशनमा पार्टी सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका प्रत्याशीका समर्थक नेता–कार्यकर्ताले दोस्रो दिन आज प्रदर्शनी मार्गमा उनीहरुको तुल सहित विभिन्न नाराबाजी गर्दै आफ्ना नेताको पक्षमा मत मागिरहेका देखिन्थे ।

केहीले सामूहिक रुपमा आफ्नो समूहका नेताको प्रचारबाजी गरिरहेका थिए । पार्टी सभापति, महामन्त्री र कोषाध्यक्षका तीन वटै उम्मेदवार तथा केन्द्रीय सदस्यका प्रत्याशीको ठूला तस्बिर र फ्लेक्स ब्यानरसहित प्रचार उनीहरुले गरिरहेका थिए ।

पद्मोदय मोडदेखि राष्ट्रियसभागृहसम्मको सडकमा उम्मेदवारको पर्चा, पम्प्लेट र काँग्रेसी नेता कार्यकर्ताको भिड देखिन्थ्यो । केहीले भने सामूहिक रुपमा छलफल गर्दै वातावरण आफ्नो पक्षमा बनाउने प्रयास गरिरहेका थिए ।

बन्द सत्रस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनीस्थल र फनपार्क छिर्ने मुख्य प्रवेशद्वारमा विशेष कडाइ गरिएको छ । त्यहाँ महाधिवेशन प्रतिनिधि र सञ्चारकर्मीलाई मात्र प्रवेश गर्न दिइए पनि बन्दसत्रमा भने महाधिवेशन प्रतिनिधि र विशेष परिचयपत्र भएकालाई मात्र प्रवेश गर्न दिइएको छ ।