नाकाबन्दी खुले पनि ग्यास सहज भएन

gas1काठमाडौं- नाकाबन्दी खुले पनि खाना पकाउने ग्यास अझै सहज हुन सकेको छैन ।

सर्वसाधारणले ग्यास अभाव अझै केही महिना झेल्नुपर्ने देखिएको छ । करिब पाँच महिना लामो नाकाबन्दी झेलेका सर्वसाधारणले माघको अन्तिम साता नाका खुलेपछि ग्यासमै खाना पकाएर खान पाइने ठानेका थिए । खासगरी काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रका सर्वसाधारणले १५ रुपैयाँ किलो दाउरा किन्ने दु:ख अब त हट्ला भन्ने सोचेका थिए । तर त्यस्तो हुने देखिएन ।

पटकपटकको निर्देशन वेवास्ता गर्दै आएका नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्का र प्रवक्ता मुकुन्दप्रसाद घिमिरेलगायत पदाधिकारीलाई बोलाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ग्यास र इन्धन वितरण दुई दिनभित्रै सहज बनाउन कडा चेतावनी दियो । त्यसको भोलिपल्टै सोमबार आपूर्ति मन्त्रालयमा आपूर्ति मन्त्री गणेशमान पुन आफैंले निगम अधिकारी समेतलाई राखेर पत्रकार सम्मेलन गरे ।

तर, तेल तथा ग्यासमा लगाउँदै आएको परिमाणात्मक बन्देज हटाएको बताए । आफूलाई चाहिए जति इन्धन र भरी सिलिन्डर ग्यास वितरण गर्न र किन्न सर्वसाधारणलाई उनीहरुले आग्रह गरे । सञ्चारमाध्यमहरुले उनीहरुको भनाइअनुसार गत मंगलबारदेखि भरी सिलिन्डर ग्यास र चाहिए जति तेल पाइने प्रचार गरे । तर, मंगलबार बिहानैदेखि पेट्रोल पम्प र ग्यास डिपोमा पुग्ने सर्वसाधारणले न भने जति तेल पाए न त ग्यास डिपोको सटर नै खुल्यो । ग्यास सहज हुने बताइए पनि यो सर्वसुलभ हुन अझै तीन महिना लाग्छ ।