प्रकाशमानद्वारा पार्टी सभापति दाबी

prakash man singhकाठमाडौं- सुशील कोइरालाको निधनपछि चुपचाप रहेका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम भएको बताएका छन्।

नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिको बधाई तथा सम्मान कार्यक्रममा पार्टी फुट्दा उपसभापति र सुशील कोइराला सभापति हुँदा निर्वाचित महामन्त्री भएकाले आफू अब पार्टी सभापतिका लागि सक्षम भएको बताएका हुन्।

उनले भने, ‘मैले पनि पार्टीमा धेरै दुःख गरेको छु त्यसैले म पार्टी सभापतिका लागि सक्षम छु।’

उनले सभापतिका लागि देशभरका कार्यकर्ताबाट दबाब आए पनि केही दिनपछि मात्र उम्मेदवारी घोषणा गर्ने बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए। उनले भने, ‘पार्टीभित्र एकता हुन नसके राजनीतिक दुर्घटना हुन्छ यसले नेपाली काँग्रेस र अन्य पार्टीलाई समेत असर गर्छ।’

उनले पार्टी एकताका लागि आफू अभिमन्यु बन्न तयार रहेको समेत प्रस्ट पारे। कोइरालाले अबको महाधिवेशनले व्यक्ति र पैसाभन्दा विचार बोकेको नेतृत्व छान्न आग्रह गरे।