पूर्वमन्त्री साहसहितका एमाओवादी नेता कार्यकर्तामाथि आक्रमण

Bishwonath-Shaलहान- पूर्वमन्त्री तथा एकीकृत नेकपा माओवादीका २ नं प्रदेश इन्चार्ज विश्वनाथ साहसहितका एमाओवादी नेता कार्यकर्तामाथि सिरहाको मझौलियाँमा आक्रमण भएको छ ।

सिरहास्थित एमाओवादीका केन्द्रीय परिषद् सदस्य फुलगेन नायकको घरबाट गाडीमा फर्कंदै गर्दा सिरहाको मझौलियाँ–५ मा एक समूहले आक्रमण गरेको इन्चार्ज साहले जानकारी दिनुभयो । गत फागुन ३ गते नेपाली काँग्रेसका नेता एवम् सांसद गणेश मण्डल र एमाओवादीका नेता फुलगेन नायकबीच भएको विवाद सम्बन्धमा जानकारी लिन नायकको घर गएको र फर्किने क्रममा आफूहरुमाथि आक्रमण भएको साहको भनाइ छ ।

उक्त समूहको आक्रमणबाट पूर्वमन्त्री साह सामान्य घाइते हुनुभएको छ भने उहाँकै गाडीमा सवार एमाओवादीका नेता उपेन्द्र साह गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते हुनुभएका उपेन्द्र साहलाई उपचारका लागि तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पूर्वमन्त्री साहले जानकारी दिनुभयो । आक्रमणबाट नेता साह सवार गाडीको सिसा फुटेको छ ।