सुशील दा’को सदागी जीवनशैली युगयुग रहनेछ :

12714274_10205729517146023_1358982447_n[1]दिनेशराज जोशी, सिड्नी,अष्ट्रेलिया

‘मैं खाँउ, मैं लाऊ, सुख सयल वा मोजमज्जा मै गरुँ’ भन्ने वर्तमान सामाजिक परिवेशमा हुर्केका व्यक्तिका लागि सदागी जीवन–शैली आचरण  र व्यवहार एउटा दन्त्य कथा जस्तो लाग्छ। तर, यस्तै सदागी जीवनलाई आफ्नो मूल मर्म मान्दै सदैव जनता र राष्ट्रहितप्रति समर्पित एक–महानायकले माघ २५ गते मध्यराति हामीवाट सदाका लागि विदा लिनुभयो। यी महापुरुषको असमायिक निधनको खवरले हामी प्रवासमा रहेका नेपालीहरु स्तब्ध भयाैं, भावविह्वल भयौं।

सन् १९३९ मा विराटनगरमा जन्मनु भएका पूर्व–प्रधानमन्त्री स्वर्गिय सुशील कोइराला,जन–नायक विश्वेश्वरप्रसाद कोइरालाको समाजवादी आन्दोलनवाट प्रभावित भइ वि.सं.२०१० सालवाट नेपाली काँग्रेसको सक्रिय राजनीतिमा होमिनु भयो। २०१७ को राजा महेन्द्रको राजनीतिक कदम पछि ०४६ सालसम्म उहाँले पटक–पटक गरी भारत निर्वासन तथा नेपालमा ६ वर्ष जेल–जीवन व्यतित गर्नुका साथै २० वर्ष भारत प्रवासमा विताउनु भयो। स्वर्गीय कोइरालाले पार्टी प्रतिवन्धित अवस्थामा पनि नेपालमा विपी कोइरालाको आदर्श, विचार र समाजवादी सिद्धान्त तथा समाजवादी आन्दोलनलाई नेपालमा शसक्त रुपमा अगाडि बढाउन अथक प्रयास गर्दै अनवरतरुपमा लागि रहे।

यसक्रममा उहाँले प्रतिवन्धित नेपाली काँग्रेस पार्टीको अन्तर्राष्ट्रियस्तरमा सोसलिष्ट इन्टतरनेशनलसँग सम्वन्ध विस्तार गर्न युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकहरुको भ्रमण गर्दै विद्धान  समाजवादी नेताहरु बिलि ब्रान्ड, व्रुनो कास्की लगायतकाहरुसंग विचार विमर्श गरी नेपालमा समाजवादी आन्दोलनलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर नेपाली काँग्रेसको तत्कालिन अभियानलाई अन्र्तराष्ट्रियकरण गर्न सफल हुनु भएको थियो।

२०३४ सालदेखि नेपाली काँग्रेसको केन्द्रीय सदस्य मनोनित हुनुभएका स्वर्गीय कोइरालाले २०३६ को जनमत–संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ को जन–आन्दोलन तथा राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कदम विरुद्धको आन्दोलनदेखि २०६२–६३ को आन्दोलनमा सक्रिय र शीर्ष भूमिका निर्वाह गर्दै प्रजातान्त्रिक समाजवादी आन्दोलनमा लाग्न नेपाली जन–समुदायलाई सदैव प्रेरित गर्नुभएको थियो। उहाँको कार्यशैली र व्यवहारले गर्दा उहाँ समकालिन राजनीतिक नेताहरु भन्दा भिन्न सदागी नेताको रुपमा नेपाली जनमानसले पाएका थियौ। उनको सदागी जीवन तथा चरित्र नेपालको इतिहासमा सन्त नेता तथा पूर्व–प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पछि आउट जुन हाम्रा लागि सदैव प्रेरणाको श्रोत समेत वनेको छ।

स्वर्गीय कोइरालाले विभिन्न समय काल–खण्डमा सरकारमा सहभागी हुन पार्टीले गरेको प्रस्तावलाई इन्कार गर्दै अनवरत रुपमा नेपाली काँग्रेस पार्टीमा केन्द्रीय सदस्यदेखि महामन्त्री, उप–सभापति हुँदै सभापतिसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो। उहाँले नेपाली काँग्रेसलाई लामो समयपति पुनः सवैभन्दा ठूलो दलको रुपमा व्यवस्थापिका संसद तथा संविधान–सभा निर्वाचनमा स्थापित गराउन सफल मात्रै हुनुभएन, मुलुक अन्तरिम संविधानको भरमा एक दशकदेखि संचालन भइ संक्रमणकाल र  अनिश्चत वातावरणमा रुमल्लिएको अवस्थामा वामपन्थी, उग्र–वामपन्थी, दक्षिणपन्थी तथा क्षेत्रीय दलहरुलाई समेत विश्वासमा लिएर आधुनिक नयाँ–नेपालको संविधान जारी गर्न सफल हुनुभयो।

स्वर्गिय कोइरालाले जन–नायक विपी कोइरालाको मेलमिलापको नीतिको अनुसरण गर्दै संविधान बहिष्कार गरी  हिंसात्मकरुप लिन लागेका मधेसी दलहरुलाई सम्वोधन गर्दै आफ्नो राजनीतिलाई दाउमा राखेर प्रधानमन्त्रीको पदमा उम्मेदवारी दिइ संविधान वहिष्कार गरी हिडेका क्षेत्रीय मधेसी दलहरुलाई संविधान सभामा भित्र्याउन सफल भूमिका निर्वाह गर्नु भएको थियो। जुन कुराको प्रशंसा गर्दै तत्कालीन समयमा सभामुुख सुवासचन्द्र नेम्वाङ्गले संसदमा प्रधानमन्त्रीको निर्वाचनको परिणाम घोषणा गर्दै भनेका थिए–‘आज नवजात शिशु संविधानलाई सवै पक्षले संविधान सभामा उपस्थित भइ जुन सहभागी जनाउनुभयो र यसका लागि निर्वतमान प्रधानमन्त्री सुशील कोइरालाले खेल्नुभएको भूमिकालाई अवमूल्यन गर्नु हुँदैन, कोइरालाले वर्तमान संविधान मान्दैनौ भन्दै हिडकाहरुलाई पनि संसदभित्र ल्याउन खेल्नुभएको भूमिकाको कदर गर्दै संविधानमा भएका कमी कम्जोरीलाई आपसमा बसेर सुल्झाउन पनि शीर्ष नेता अझ नेपाली काँग्रेसका सभापति तथा निर्वतमान सभापतिको अहंम भूमिका रहेको छ।’

जुन कुरा संसदको रेर्कडमा सुरक्षित छ। स्वर्गीय कोइरालाले उहाँकै प्रधानमन्त्रीत्वकालमा उहाँकै पहलमा मधेस समस्या समाधान गर्न संविधान संसोधनको प्रस्ताव संसदमा पेश गर्नु भएको थियो। त्यसैलाई नै आधार मानेर मधेसको मुद्दा वर्तमान संसदले सम्वोधन गरेको थियो। उहाँले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि राष्ट्र, राष्ट्रियता र समाजवादी सिद्धान्तमा देखाएको चट्टानी अडानले नेपालका राजनीतिक दल तथा नेताहरुलाई राष्ट्र र जनताप्रति बढी जिम्मेवार हुने प्रेरित गरेको छ।

सुशील कोइरालाको असमायिक निधनले वर्तमान नेपाली राजनीतिमा त्यागी तथा सदागी नेताको अभाव महसुस नेपाली जनताले गरिरहनेछन्। उहाँको अभाव महसुस  हुन नदिन हामीले स्वर्गीय कोइरालाको  प्रधानमन्त्रीत्वकालमा लागू भएको नेपालको संविधान २०७२ को सफल कार्यान्वयन र पूर्णपालना नै उहाँप्रतिको हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ।  उहाँले देखाएको मार्ग चित्रमा हिड्न हामी सफल भएमा मात्रै उहाँको आत्माले चीर शान्ति पाउनेछ, त्यसैले यस दुःखद् घडीमा हामी सम्पूर्ण  नेपालीजनले नेपालको संविधान २०७२ को सफल कार्यान्वयन र पूर्ण  पालना गर्ने प्रण गरौं यो नै स्वर्गीय कोइरालाप्रति सच्चा श्रद्धासुमन हुनेछ।

कोइरालाले नेपाली समाजलाई देखाउनु भएको मार्ग दर्शन, त्याग, वलिदानी र सदागी चरित्र नै हाम्रा आदर्श भएर युग–युग सम्म रहनेछ। अल विदा सुशील दा।