नेपाल र पश्चिम एसियाली मुलुक इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५औँ वर्ष प्रवेशका अवसर पारेर इजरायलका कृषि तथा ग्रामीण विकास मन्त्री याइर समिर नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदै हुनुहुन्छ ।
नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा प्राप्त उपलब्धि, नेपालको सामाजिक एवम् आर्थिक विकासका निम्ति इजरायली सहायता वृद्धिका साथै दुई मुलुकबीचको दौंत्य सम्बन्ध अझ सुदृढ तुल्याउने उद्देश्यले मन्त्री समिरको यो भ्रमण हुन लागेको हो ।
कृषि तथा ग्रामीण विकासका साथै विदेश मन्त्रालयका उच्च अधिकारी र व्यापारी प्रतिनिधिमण्डलसहित १२ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लाग्नुभएका इजरायली मन्त्रीले नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको उन्नयनका लागि अवलम्बन गर्नुपर्ने उपायबारे नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्नुहुनेछ ।
राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, कृषि विकास मन्त्री हरिप्रसाद पराजुली र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासँग मन्त्री समिरले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित इजरायली राजदूतावासले जनाएको छ ।
दुई देशबीचको प्रगाढ सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा पारस्परिक सहयोग अभिवृद्धिमा मन्त्री समिरको भ्रमण केन्द्रित रहने नेपालका लागि इजरायलका राजदूत यारोन मायरले राससलाई बताउनुभयो । इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वार्षिकोत्सवको सन्दर्भमा हुन लागेको यो भ्रमणले उच्चस्तीय भ्रमण आदानप्रदानमा योगदान गर्ने तथा त्यसले आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उहाँले बताउनुभयो ।
सन् २०१५ मा दुई देशबीच विविध प्रवद्र्धनात्मक गतिविधि हुने र सरकारी एवम् जनस्तरको सम्बन्धलाई अझ गतिशील तुल्याउन मन्त्री समिरको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै राजदूत मायरले नेपाली किसानलाई इजरायलमा उपलब्ध हुँदै आएको तालिमका अतिरिक्त सहयोगका नयाँ क्षेत्र पहिल्याउन पनि उहाँको भ्रमणले योगदान गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
इजरायली उद्योगपति एवम् व्यापारीसमेत मन्त्री समिरको प्रतिनिधिमण्डलमा रहेकाले कृषि, पर्यटन, जलस्रोतलगायत पूर्वाधार विकासका क्षेत्रमा आफ्नो मुलुकबाट लगानी हुने प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो ।
“नेपाली उद्यमीहरूसँगको भेटमा लगानीका क्षेत्र पहिल्याउने तथा कृषिको व्यावसायीकरणमा ठोस छलफल एवम् पारस्परिक सहयोग बढाउने बारेमा विचार आदानप्रदान हुनेछ”, राजदूत मायरले भन्नुभयो ।
नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्यका रुपमा रहेको इजरायल हाल बन्द रहेकाले त्यसलाई पुनः खुला गर्न भएका प्रयासबारेको राससको जिज्ञासामा राजदूत मायरले दुवै देशका सरकारले उक्त विषयमा अध्ययन गरिरहेका र चाँडोभन्दा चाँडो समस्या समाधान गरेर अघिबढ्न दुवै पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो । कुनै समय २५ हजारको हाराहारीमा नेपाली श्रमिक कृषि तथा सुसारेका रुपमा इजरायलमा काम गर्थे भने हाल उक्त सङ्ख्या आठ हजारमा सीमित भएको छ । केही वैदेशिक रोजगार व्यवसायीले नेपाली श्रमिकहरुबाट इजरायल सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको पुष्टि भएपछि विगत आठ वर्षदेखि नेपाली कामदार लिन उक्त मुलुकले बन्द गरेको छ ।
कृषि प्रविधिमा विश्वभर ख्याति कमाएको इजरायलले हाल ५१५ जनालाई जनही मासिक रु एक लाखभन्दा बढी पारिश्रमिक प्रदान गरेर दश महिने “सीप सिक्ने र कमाउने” कार्यक्रमअन्तर्गत तालिम उपलब्ध गराइरहेको छ ।
विशेषगरी युवा किसानको क्षमता अभिवृद्धि तथा कृषिको उत्पादकत्व वृद्धिलाई लक्षित गरी इजरायलले उक्त कार्यक्रममा सन् २००२ देखि नेपालीलाई सहभागी गराउन थालेको हो ।
संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वको सर्वाधिक होचो स्थान मृतसागर रहेको भूमध्यसागरको किनारमा अवस्थित इजरायलसँग १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
दौत्य सम्बन्ध कायम भएको वर्ष दिन नबित्दै इजरायलले काठमाडौँमा राजदूतावास स्थापना गरेर आपसी सम्बन्ध विस्तारमा निरन्तर योगदान गर्दै आएको छ भने नेपालले पनि सन् २००७ मा इजरायलमा नेपाली दूतावास खडा गरेर मुलुकको राष्ट्रिय हित प्रवद्र्धनमा भरथेग गर्दै आएको छ ।
कूटनीतिक दौत्य सम्बन्ध कायम भएयता एक हजार बढी सरकारी अधिकारीले कृषि, स्वास्थ्य, शिक्षा, सञ्चार, विज्ञान तथा प्रविधिलगायत विविध विधामा तालिम प्राप्त गरेका छन् भने इजरायली विकास सहयोग नियोग (मसाभ)मार्फत झन्डै तीन हजार नेपालीले ती क्षेत्रको अध्ययन भ्रमणसँगै अल्पकालीन तालिम पनि हासिल गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे इजरायलबाट कृषि प्रविध भित्र्याउने प्रयासमा आफू लागेको बताउँदै नेपाली चिया, कफी, ऊनी गलैँचा, हाते कागज, हस्तकलाका सामग्री, पश्मिना सल, धातुका सामान इजरायल निर्यातको प्रशस्त सम्भावना रहेकाले त्यसतर्फ महासङ्घको ध्यान केन्द्रित रहेको स्पष्ट गर्नुहुन्छ ।
इजरायली लगानी ल्याउनेमा पनि महासङ्घ क्रियाशील रहेको जानकारी दिँदै उहाँले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको चौतर्फी विकासबाटै आर्थिक समृद्धि हासिले हुने भएकाले कृषिलाई नै पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।
“पर्यटन, जलस्रोत र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न हामी इजरायली उद्यमीहरूलाई आग्रह गर्छांै”, तुलनात्मक लाभका क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने तथा निर्यात प्रवद्र्धनमा जोड दिँदै अध्यक्ष पाण्डेले भन्नुभयो ।
दुई मुलुकका निजी क्षेत्रबीच सहकार्यका साथै आर्थिक विकासका विभिन्न क्षेत्रमा प्रविधि आदानप्रदान एवम् सहयोग विस्तार गर्न दुई दशकअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको औपचारिक भ्रमणका बेला इजरायल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सहयोग अभिवृद्धिसम्बन्धी सम्झौता भएको थियो ।
समस्यारहित नेपाल–इजरायल सम्बन्धलाई अझ गतिशील एवम् सहयोगात्मक बनाउन मन्त्री समिरको भ्रमण परिणाममुखी हुनेमा ढुक्क हुनुहुन्छ एनेकपा (माओवादी)का सभासद् एवम् अन्तर्राष्ट्रिय विभागका सदस्य राम कार्की । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सुझबुझपूर्ण कूटनीतिको सराहना गर्दै उहाँ साना देशको राष्ट्रिय हितमा केन्द्रित रहेर स्थापना भएको इजरायलसँगको नेपालको कूटनीतिक सम्बन्ध तत्कालीन अवस्थामा उच्च महत्व रहेको बताउनुहुन्छ ।
इजरायली मन्त्री भोलि नेपाल आउने






