- युवराज पाण्डे
गुवाहाटी (भारत)- महाराष्ट्रको मराठीमा लोकप्रिय खोखो खेल १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पहिलोपटक समावेश गरिएको हो ।
खोखो मराठी भाषाबाटै बनेको शब्द हो जसको अर्थ हुन्छ जाउ, लखेट । सागको यही अनौठो समूह खेलमा नेपालले पुरुष र महिला दुवैमा कास्य पदक जितेको छ । यहाँ सम्पन्न खोखोमा नेपालले बलियो भारत र बङ्गलादेशसँग आफ्नो प्रदर्शनमा निखार देखाउँदै कास्य पदक जितेको हो ।
नेपालमा खोखो खासै परिचत छैन । विसं २०५२ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा विधिवत् रुपमा दर्ता भएको खोखो सङ्घ बाहिर आउन सकेन । राखेपभित्रको राजनीति र पदाधिकारीको लापर्बाहीले खोखो खेललाई हेर्ने नजर अर्कै भयो । खोखोका पारखी सीमित जिल्लास्तरीय खेलमै खुम्चिए ।
काठमाडौँमा भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खोखो खेल समावेश गरिएको थियो । त्यसपछि खोखोको न राष्ट्रिय प्रतियोगिता भए न त अन्तर्राष्ट्रिय स्पर्धामै सहभागिता । घरभित्रै खुम्चिन बाध्य खोखोले पहिलो पटक सागका कास्यपदक जित्दा अहिले खेलाडी र प्रशिक्षकको खुसीको सीमा छैन ।






