
काठमाडौं- पार्टी र सरकारमा एकलौटी गरेको भन्दै असहमति राख्दै आएको माधव नेपाल समूहले बहस सुरु गरेको छ । सचिव योगेश भट्टराई अध्यक्ष रहेको मदन भण्डारी अध्ययन केन्द्रले मंगलबारदेखि राष्ट्रव्यापी अभियान चलाउन सुरु गरेको छ ।
डेढ वर्षको अध्यक्षको कार्यकलमा ओलीले पार्टी स१चालन एकलौटी गरेको र प्रधामन्त्रीको रुपमा पनि पार्टीसँग समन्वय नगरी मुलुक सञ्चालन गरेको निष्कर्ष नेपाल समूहको छ ।
पार्टीका नेतृत्व गरिसकेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल एउटै मञ्चमा उभिएर पार्टीको नीति अनुसार काम नभएको र सरकार सञ्चालनमा समेत समस्या देखिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
बरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनले तय गरेको कार्यभार, नीति र सिद्धान्तहरुबारे पर्याप्त छलफल नभएको भन्दै आलोचना गरे ।
नेता नेपालले पार्टीमा भ्रष्ट प्रबृत्ति र गुटबन्दी बढेको आरोप लगाए । सरकार सञ्चालनको नेतृत्वको अनुभव समेत भएका नेता खनाल र नेपालले ओलीले विना अध्ययन महत्वकांक्षी योजना अघि सार्दा ओली व्यंगको पात्र बनेको र त्यसले पार्टीलाई नै नराम्रो भएको टिप्पणी गरे ।
पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वको कायैशैलीमा प्रहार गरे ।






