मुगु- नेपाली कांग्रेसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४ गाविसमध्ये गाउँ अधिवेशन सम्पन्न भएका आजसम्म प्राप्त नतिजाअनुसार कार्कीवाडा गाविसका सबैभन्दा कान्छा उमेरका २५ वर्षीय विष्नबहादुर भाम र श्रीनगर गाविसका ६५ वर्षीय नरबहादुर रावल बाजे उमेरका निर्विरोध सभापतिमा निर्वाचित भएका छन् भने जिल्लाभरिमा रोवा गाविसमा मात्र एक महिला सभापति ३९ वर्षीया नानी बुढा सर्वसम्मत चयन भएकी छन् ।
उमेर समूहका आधारमा हेर्दा २५–३० वर्षभित्रका तीनजना ३०–४० वर्षभित्रका चारजना, ४०–५० वर्षभित्रका नौजना, ५०–६० वर्षभित्रका पाँचजना र ६०–७० वर्षभित्रका तीनजना गाउँ सभापति निर्विरोध निर्वाचित भएका छन् भने ११ सदस्यीय गाउँ तथा वडा कार्यसमितिमा प्रायः २५ देखि ४५ वर्षभित्रका पदाधिकारीहरुको बाहुल्यता रहेको छ ।






