काठमाडौं- सरकार समर्थित दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक विना कुनै निर्णय टुंगिएको छ ।
सिंहदरबारमा आइतबार बसेको संयन्त्रको बैठकले सरकारको काम, प्रधानमन्त्री केपी
शर्मा ओलीको आसन्न भारत भ्रमण, मधेस आन्दोलनलगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने एजेन्डा तय गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण बैठकले एजेन्डा मात्र तय गरेको र ती एजेन्डामाथि आजै अपराह्न ५ बजे बस्ने बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
एकीकृत माओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै तत्काल संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेअनुसार आज बैठक बसेको थियो ।
यसअघि बसेको एकीकृत माओवादी स्थायी समिति बैठकले जनताले राहत अनुभूति हुने गरी सरकारले काम नगरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
एकीकृत माओवादी अध्यक्ष दाहालको संयोजकत्वमा सत्ता साझेदार र सरकार समर्थित दलका नेताहरुको सहभागितामा संयन्त्र गठन भए पनि लामो समयदेखि बैठक बस्न सकेको थिएन । संयन्त्रको बैठक आज साँझ ५ बजे पुनः बस्ने भएको छ ।






