विमलेन्द्र निधिद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

bimalendra nidhi
काठमाडौं- नेपाली काँग्रेशका पूर्व महामन्त्री तथा कार्य समिति सदस्य विमलेन्द्र निधिले पार्टीको १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन । तराई मधेशमा कमजोर बन्दै गएको पार्टीको पहुँच र देशको परिवर्तित स्वरुपको सम्बोधनका लागि आफ्नो उम्मेद्वारी अनिबार्य भएको बताउदै निधिले एक विज्ञप्तीमार्फत महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन ।

यस अघिसम्पन्न १२ औं महाधिवेशनमा पनि निधि महामन्त्री पदका प्रत्यासी थिए । उनी वर्तमान महामन्त्री प्रकाशमान सिंहसँग पराजित भएका हुन् ।

देशभरको भम्रण र देशभरका पार्टी कार्यकर्ताको सल्लाह र सुझाव पछि निधिले उम्मेदवारी दिने तय गरेको उनको स्वकिय सचिवालयले जनाएको छ । पार्टीका नेताहरु माझ तराई मधेशको समस्या सम्बोधनका बिषयमा फरक मत राख्दै आएका निधिको उम्मेदवारी देश, जनता र प्रजातन्त्रका लागि भएको धनुषा जिल्ला सभापति राम सरोज यादवले बताए । यादवका अनुसार निधिले केही दिनमै औपचारिक कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने तयारी गरिरहेका छन ।

नेता निधिले देशलाई एकसुत्रमा बाधेर विपिको समाजवाद, सर्वोच्च नेता गणेशमान सिंहको अडिग बिचार र सन्त नेता कृष्णप्रसाद भट्टराईको कुटनीतिलाई पार्टीले कार्यन्वयनमा लैजानुपर्ने विचार राख्दै आएको सचिवालयले जनाएको छ । दोस्रो जनआन्दोलनको सफलता पछि पार्टीमा देखिएको अस्थिर र असफल कुटनीतिका कारण पार्टीका धेरै नेता र कार्यकताले पार्टी छाडेर गएको निधिको ठहर छ ।

परिवार नै पार्टी राजनीतिमा सकृय रहेपनि निधि विद्र्यार्थी राजनीति हुँदै पार्टीमा आफ्नै बलबुताले स्थान बनाउन सफल भएका हुन । निधि नेपाल विद्र्यार्थी सँघको पूर्व अध्यक्ष हुदै पार्टीको महामन्त्री भैसकेका छन ।