चार्ल्टन समाजको हाजिरी जवाफ प्रतियोगिता फेब्रुवरी २१ मा

फडिन्द्र भट्टराई,

लन्डन,

साउथ ईस्ट लण्डनमा सक्रिय नेपाली सामुदायिक संगठनको रुपमा परिचित चार्ल्टन वासी नेपालीहरु आवद्द चार्ल्टन नेपाली समाज यूकेले नेपाली युवा युवतीहरु माझ एक खुला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ।

12576335_10156410411370494_1523497383_n[1]आगामी फेब्रुवरी महिनाको २१ तारिक का दिन आयोजना गरिने उक्त खुला प्रतियोगितामा बेलायतका बिभिन्न स्थानीय नेपाली संघ संस्थाहरुलाई आफ्ना बाल बालिकाहरु सहभागी गराउन आवहान गरिएको छ ।

प्रतियोगितामा मुख्यतया नेपाल संग सम्बन्धित प्रश्नहरु सोधिने छ जसको विषय वस्तु समेत सहभागीहरुलाई प्रतियोगिता पहिले नै उपलब्ध गराईने आयोजकले जनाएका छन । कार्यक्रम लन्डन ,चार्ल्टन स्थित एसेम्बली हलमा आयोजना हुनेछ ।

प्रतियोगिता आयोजनाको संयोजन गरिरहेका चार्ल्टन नेपाली समाजका सचिव टि एन रिजालले बेलायतमा रहेका नेपाली अविभावक हरुले संस्थागत रुपमा आफ्ना नानीहरुलाई सामुहिक सहभागी गराउन सक्ने जनाए । “ तोकिएको समयावधि भित्र आवेदन दिनेहरु लाई तीन जनाको ग्रुपको रुपमा प्रतियोगितामा समुहगत प्रवेस दिईने छ ।”, उनले भने । यसको लागी युकेका अन्य नेपाली संस्थाहरुको सहभागिता मुलक सहयोगको अपेक्षा गरेको समेत उनले बताए ।

चार्ल्टन नेपाली समाज युकेका अध्यक्ष रोम नाथ पाण्डेले आफ्नो समाज नेपाली नयाँ पुस्ताको व्यक्तित्व बिकास तथा सामुदायिक सामिप्यतामा सधै लागी परि रहेको बताए । “ हाम्रा केटा केटीलाई नेपाल र नेपाली संग सधै कसरी जोडेर राख्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ “ , उनले भने । प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले यहि जनवरी महिनाको अन्त्यसम्म मा आफनो बसोबास रहेको क्षेत्रमा भएका स्थानीय नेपाली समाजसंगको समन्वयमा तीन जनाको समूह बनाएर समाजको वेवसाइटमा उपलब्ध फारम भर्नुपर्नेछ ।

चार्ल्टन नेपाली समाजले लामो समय देखी स्थानीय केटाकेटी हरुलाई नेपाली भाषा सिकाउनको लागी ‘लर्न नेपाली प्रोग्राम’ को रुपमा नेपाली भाषा कक्षाको सफल संचालन गर्दै आइरहेको छ । लर्न नेपाली प्रोग्रामको संयोजकको रुपमा कार्यरत समाजका पुर्व अध्यक्ष सुरज केसीले भाषा कक्षामा नेपाली भाषा मात्र नभएर नेपाली परम्परा ,कला तथा संस्कृतीको समेत व्यावहारिक ग्यान दिईने गरेको बताए ।

समाजले शुरु गरेको उक्त प्रोग्रामको सफलता संगै बेलायतमा रहेका अन्य नेपाली संघ संस्थाहरुले पनि नेपाली भाषा कक्षाहरु संचालनमा ल्याएका छन । यसैविच चार्ल्टन नेपाली समाजले भाषा कक्षा संचालन भएकै स्थान चार्ल्टन म्यानर स्कुलमा एक बैठकको आयोजना गरेको थियो ।

कार्य समिती तथा सल्लाहकारहरु सम्मिलित उक्त बैठकमा नेपाली भाषा कक्षाको समिक्षा गर्दै स्वयम् सेविकाको रुपमा कार्यरत शिक्षिका मंजु खरेल लाई लर्न नेपाली प्रोग्रामको सह संयोजकको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । साथै बैठकमा भाषा कक्षाको संचालनमा योगदान पुर्याउदै आएका सबै स्वयम् सेवक, शिक्षक तथा अविभावक हरु प्रती हार्दिक आभार व्यक्त गरेको छ ।

बैठकमा संस्थाका भावी कार्यक्रमहरुको बारेमा पनि छलफल गरिएको थियो । बैठकले समाजको आयोजनामा हुने आसन्न युवा हाजिर जवाफ प्रतियोगिता सफल बनाउन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।