कोलकातामा माघेसङ्क्रान्ति शिविर

संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाता भारतले यस वर्ष पनि माघेसङ्क्रान्तिका अवसरमा गङ्गासागर मेलाका तीर्थयात्रीलाई सहयोग र सेवा दिने भएको छ ।
गङ्गासागर मेलाका अवसरमा गङ्गा र सागरको सङ्गममा स्नान गरी कपिलमुनिको आश्रममा पूजा गर्ने परम्परा छ । साङ्ख्यदर्शनका प्रणेता कपिलमुनिको जन्म नेपालकै कपिलवस्तुमा भएको मानिन्छ । गङ्गासागर कोलकाता हाउडा रेल स्टेसनबाट करिब १०० किमि पूर्वमा पर्छ ।
यही पुस २६ देखि माघ २ गतेसम्म कोलकाता आउट्राम घाट(हाउडा रेल स्टेसनबाट करिब दश किमि पूर्व)मा मेलाको शिविर लगाइने तथा अलपत्र परेका र विभिन्न ठाउँमा बेचिएका चेलीबेटीको उद्धार तथा घरफिर्तीको व्यवस्था, अस्थायी निःशुल्क स्वास्थ्यशिविर आदि सञ्चालन गरिने मेला आयोजक कमिटीका अध्यक्ष बद्रीविक्रम थापाले जानकारी दिनुभयो ।
सङ्घले २६ वर्षदेखि यस्तो सेवा प्रदान गर्दै आएको बताइएको छ । सङ्घका सल्लाहकार एवं राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य धर्मराज बरालले कोलकातामा रहेका प्रवासी नेपालीले नेपाली यात्रु तथा भक्तजनलाई खान, बस्न, उद्धार र स्वास्थ्योपचारका व्यवस्था गरी पु¥याइरहेको सेवाको प्रशंसा गर्दै नेपालीहरुको यस्तो एकताको अनुसरण अन्य क्षेत्रमा हुनुपर्ने बताउनुभयो । सल्लाहकार बरालले गत हप्ता सङ्घको बैठकमा नेपालबाट सहभागी भई साङ्केतिक रुपमा शिविर सञ्चालनका लागि रु एक हजार पनि प्रदान गर्नुभयो ।