पुस १८ – फ्य्रान्क लाम्पार्डले यस सिजनको समाप्तसम्म म्यानचेस्टर सिटीबाट लोनमा
खेलिरहने निर्णय गरेका छन् । उनको यो निर्णयबाट मेजर लिग सकरको टोली न्युयोर्क सिटीका समर्थक स्तब्ध भएका छन् ।
जूनमा चेल्सीले फुकुवा गरिदिएपछि ३६ वर्षे लाम्पार्ड न्युयोर्कमा आबद्ध भएका थिए । त्यसपछि न्युयोर्कले मेजर लिगको सिजन सुरु नहुन्जेलसम्म लाम्पार्डलाई पि्रमियर लिगको टोली म्यानचेस्टर सिटीमा लोनमा पठाएको थियो । सिटीबाट राम्रो प्रदर्शन गर्दै आएपछि उनलाई तत्काल नपठाउने निर्णय बिहीबारमात्र गरेको थियो ।
न्युयोर्कको समर्थक समूह ‘थर्ड रेल’ ले लाम्पार्ड ल्याउने निर्णय प्रचारमात्र भएको भनी विरोध गरेको हो । स्वतन्त्र समर्थकको त्यो समूहले लाम्पार्ड ल्याउने भनेपछि आफूहरूले सिजनभरिको टिकट खरिद गरेको, लाम्पार्ड लेखेकै पि्रन्ट जर्सी खरिद गरेको अवस्थामा अहिलेको निर्णयले दुःखी बनाएको छ । सिटीबाट १७ खेलमा ६ गोल गरिसकेका लाम्पार्डले अब मेजर लिगको सुरुआती सिजनका खेल गुमाउनेछन् ।






