सिकिस्त बिरामीको किनबेच

राजधानीका ठूला अस्पतालहरूले एम्बुलेन्स चालकलाई कमिशन दिएर सिकिस्त बिरामी खरीद गर्छन्, कसरी ?

– प्रमोद आचार्य : खोज पत्रकारिता केन्द्रका लागि

healthएम्बुलेन्स चालकसँग मिलेर अस्पतालहरू सिकिस्त बिरामी किनिरहेका हुन्छन् भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । सामान्यतः विश्वास गर्न पनि सकिन्न कि रोगसँग संघर्ष गरिरहेको बिरामीले उपचार अघि किनबेचबाट गुज्रनुपर्छ । तर, जतिसुकै अविश्वसनीय लागे पनि काठमाडौंका अस्पतालहरूका लागि यो सामान्य चलन भइसकेको छ । यो कारोबारमा राजधानीका नामी अस्पतालहरू संलग्न छन् ।

यसअघि पनि अस्पताल र एम्बुलेन्स चालकबीच बिरामी किनबेच भएका दृष्टान्त सार्वजनिक भएका थिए । खोज पत्रकारिता केन्द्र ले नै डेढ वर्षअघि पहिलो पटक यस्तो धन्दालाई सार्वजनिक गरेको थियो । अहिले के भइरहेको होला भनेर हामीले बुझन खोज्यौं । त्यसक्रममा सबभन्दा पहिले एम्बुलेन्स चालकहरूसँग कुरा गर्यो, जसबाट राजधानीमा यो अनैतिक काम नरोकिएको बरु अझ् खुल्लमखुला कारोबारमा बदलिएको थाहा भयो । त्यसपछि हामीले राजधानीका नाम चलेका अस्पतालहरूमा एम्बुलेन्स चालक बनेर सम्पर्क गर्दा सबैले हाकाहाकी दर–भाउ बताए । ब्लू क्रस अस्पतालका सन्दिप भनिने व्यक्तिले स्वागत गर्दै भने, “कमिशन नदिने कुरै छैन, जमाना त्यसैको छ आउनुस् बिरामी लिएर ।”

Cover.inddहाम्रो अनुसन्धानले के देखायो भने, एम्बुलेन्स चालकहरूले तुरुन्त विशेष उपचार चाहिने गम्भीर बिरामी भेटेपछि राजधानीका अस्पतालहरूमा फोन गरेर मोलतोल गर्छन् । बढी बिल उठाउन सकिने र लामो समय उपचार चाहिने बिरामी अस्पताल व्यवस्थापकहरूको प्राथमिकतामा पर्छन् । त्यस्ता बिरामी ल्याउने एम्बुलेन्स चालकले स्वाभाविक रूपमा बढी रेट पाउँछन् । यसरी आफू किनबेचमा परेको सुईंको न मृत्युसँग लडिरहेको बिरामीले पाउँछन् न त परिवार र अरूले नै ।

यो काम यति सहजै भइरहेको छ, मानौं यो वैधानिक हो । अस्पताल व्यवस्थापन हाकाहाकी संलग्न यो कारोबारको खुला बजार र नाफा–घाटा छ । कारोबारीहरूले सरकार वा नियमनकारी निकाय पनि छ भन्ने हेक्का राख्नुपरेको छ्रैन । कारोबारीहरूप्रति स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल जस्ता जनस्वास्थ्यको क्षेत्रमा आधिकारिक निकायहरू मात्रै होइन, कालोबजारी र दलालीलाई कारबाही गर्ने नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालन अनुमति दिने जिल्ला प्रशासन कार्यालयहरू समेत मौन देखिन्छन् ।

फस्टाउँदो धन्दा
बिरामी जति सिकिस्त उति बढी भाउ लाग्ने यो धन्दा कसरी फस्टाइरहेको छ ? एक जना एम्बुलेन्स चालकको भनाइले स्थिति स्पष्ट गर्छ । उनका अनुसार, धेरैले फोनमै कमिशनको कुरा मिलाउँछन् । अलिक होशियारी अपनाउने अस्पतालहरूले चालकलाई भेटेर मात्र कुरा गर्छन् । “केही अस्पतालले बिरामी मिलाउने एजेन्ट नै राखेका छन्”, ती चालक भन्छन्, “धेरैमा कर्मचारी र डाक्टरहरूले नै कुरा मिलाउँछन् ।”

यस्ता अस्पताल व्यवस्थापक, एजेन्ट, कर्मचारी र डाक्टरहरू उपत्यका बाहिरबाट बिरामी बोकेर ल्याउने एम्बुलेन्स चालकहरूको फिराकमा हुन्छन् । बिरामी ल्याइदिने चालकहरूलाई दुई तरीकाबाट पैसा दिने गरेको देखिन्छ– बिरामी ल्याए बापत आफ्नो दरभाउ अनुसार निश्चित रुपैयाँ दिने र बिरामीको उपचारमा अस्पतालमा उठेको बिलका आधारमा निश्चित कमिशन दिने । जस्तो, कलंकीस्थित सिटी सेन्टर अस्पतालको मार्केटिङ्ग हेर्ने बताउने शंकर लामाले चितवनका एम्बुलेन्स चालक बनेका हामीलाई फोनमा ‘दाजुभाइ जस्तो भनेर’ फकाउँदै भने, “बिरामी ल्याउनुस् १५ हजार दिन्छु ।”

त्यस्तै, बयोधा अस्पतालका बसन्त खड्काले भने, “बिल अनुसार मिलाएर दिन्छु नि, हुन्न !”
राजधानीको नामीमध्येको एक नर्भिक अस्पताल पनि यस्तो धन्दा गर्दोरहेछ । नर्भिकका डेपुटी जनरल म्यानेजर (डीजीएम) हनुमान गोल्छाले टेलिफोन कुराकानीमा कमिशनको अङ्कमा लामो गलफत्ती गरे । उनले ‘बिरामी ल्याउनुस्, मिलाएर दिउँला’ भने, पटक–पटक । पहिला कारोबार नगरेको एम्बुलेन्स चालक भएकोले हुनसक्छ, अन्तमा भने, “८ हजार त दिन मिल्दैन होला, म ६ हजारसम्म गर्दिन्छु ।”

अनुसन्धानका क्रममा यस्ता अस्पताल पनि भेटिए, जो सिकिस्त बिरामी किनबेचमाथि आईसीयूको व्यापार पनि चलाउँदा रहेछन् । एम्बुलेन्स चालकलाई प्रति बिरामी रु.५ हजार दिने त्रिपुरेश्वरको ब्लू क्रस अस्पतालले भेन्टिलेटर चलाउन पनि बिरामी खरीद गर्ने गरेको रहेछ । त्यस अस्पतालका आफूलाई सन्दिप नामले चिनाउने व्यक्तिले एम्बुलेन्स चालक बनेर फोन गरेका हामीसँग पटक–पटक जान्न खोजे–बिरामीलाई आईसीयू चाहिन्छ कि, चाहिंदैन ? भेन्टिलेटरमा राख्नुपर्ने कि नपर्ने ? अन्त्यमा उनले भने, “ल्याउनुस् मिलाएर दिन्छु ।”

अर्को संवेदनशील पक्ष, बिरामी खरीद गर्ने मामिलामा अस्पताललाई डाक्टरहरूले नै साथ दिंदारहेछन् । कस्तो बिरामी हो, अस्पतालमा कति दिन बस्छ ? यसरी बस्दा कतिसम्म बिल उठ्न सक्छ भनेर डाक्टरको सल्लाह अनुसार नै अस्पतालले एम्बुलेन्स चालकसँग सौदाबाजी गर्दोरहेछ । अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डाक्टर बताउने व्यक्तिले एम्बुलेन्स चालकलाई पैसा लिने तरीका सिकाउँदै भनेका छन्, “बाबु ! क्यास काउन्टरमा गएर ड्राइभर दाइ भन्नु न, उसले कुरा बुझ्हिाल्छ ।”

डाक्टरहरूले पाउने पारिश्रमिकमा बिरामीको उपचार खर्चको अङ्कले पनि महत्व राख्ने यो अनुसन्धानबाट देखिन्छ । अरू अस्पतालका कर्मचारीसँगको कुराकानीबाट यो स्पष्ट हुन्छ । जस्तो, बयोधा अस्पतालका कर्मचारी बसन्त खड्काले एम्बुलेन्स चालकसँग कुरा गर्दा पटक–पटक ‘डाक्टरलाई पनि दिनुपर्छ, त्यसपछि तपाईंलाई मिलाउँला’ भने ।

नचिनेको चालकसँग टेलिफोनमा कमिशनको कुरा गर्नु जोखिमपूर्ण ठान्ने केही अस्पतालका कर्मचारीले भेटेरै कुरा गर्ने बताए । हामीले कुरा गरेको चितवनका एक जना एम्बुलेन्स चालकले बल्खुस्थित शिवज्योति अस्पतालले एउटा बिरामी ल्याइदिएबापत पाँच हजार रुपैयाँ दिने बताए । तर, हामीले टेलिफोन सम्पर्क गर्दा अस्पतालका कर्मचारी केशव तिमिल्सिनाले भने, “यहीं आउनुस्, फोनमा भन्न मिल्दैन ।”

त्यस्तै, जावलाखेलको अल्का अस्पतालले बिरामीबाट हुने खर्चको अवस्था हेरी एम्बुलेन्स चालकलाई कमिशन दिन्छ । त्यो अंकबारे हामीले टेलिफोनमा अस्पतालका सञ्चालकमध्येका एक कुमार थापाले ‘त्यस्ता कुरा बाहिर भन्ने होइन नि !’ भन्दै सचेत गराए । कमिशन रकमबारे दोहोर्याएर सोध्दा थापाले भने, “यति नै भन्ने हुँदैन, यहाँ आएर मलाई फोन गर्नू ।”

कुनै वेला बिरामी ल्याइदिने एम्बुलेन्स चालकलाई ‘बम्पर उपहार’ मा मोटरसाइकल दिने सुन्धाराको लाइफ केयर अस्पताल अहिले नयाँ व्यवस्थापनको हातमा छ । नाकाबन्दीका कारण भन्दै अस्पतालको आईसीयू बन्द गरिएको छ । रिसेप्सनमा टेलिफोन उठाउने सुनयना नामकी महिलाले चालक कमिशनबारे केही थाहा नभएको बताइन् ।
धेरै बिलमा बढी कमिशन
बल्खुस्थित बयोधा अस्पतालले बिरामीको बिल अनुसार एम्बुलेन्स चालकलाई कमिशन दिने नीति लिएको रहेछ । आईसीयूको बिरामी ल्याएमा चालकले अस्पतालमा रहँदा बिरामीले गरेको खर्चको १० प्रतिशतसम्म कमिशन पाउने रहेछ । कति प्रतिशतसम्म कमिशन दिनुहुन्छ भन्ने हाम्रो मागमा बार्गेनिङ्ग गर्दै अस्पतालका अन्तरंग सेवा (आईपीडी) इन्चार्ज बसन्त खड्काले आश्वस्त पार्दै भने, “बिरामीको बिल दुई लाख आएमा डाक्टरको कटाएर १५/२० हजारसम्म दिन सकिन्छ ।”

ललितपुर महालक्ष्मीस्थानस्थित गणेशमानसिंह अस्पतालले एउटा बिरामी ल्याएबापत कम्तीमा तीन हजार कमिशन दिने गरेको रहेछ । बिरामीको खर्च धेरै भए अस्पतालले बिरामी डिस्चार्ज भइसकेपछि पनि चालकलाई बिल अनुसार कमिशन थपिदिने गर्दोरहेछ । अस्पतालका कर्मचारी गोविन्द घिमिरेले हामीलाई फोनमा भने, “पहिले बिरामी लिएर आउनुस्, डाक्टरसँग कुरा गरेर मिलाउँला ।”

त्यस्तै, बालाजुको जनमैत्री अस्पतालले आईसीयूमा एउटा बिरामी ल्याइदिएबापत चालकलाई तत्कालै कम्तीमा तीन हजार कमिशन दिने गरेको छ, त्यसपछि बिरामीले गर्ने खर्च अनुसार कमिशन । अस्पतालका अकाउन्टेन्ट फत्तेबहादुर चौधरीले हामीलाई टेलिफोनमा भने, “बिरामी ल्याउनु, भोलिपल्ट मलाई भेट्नु ।”

बुद्धनगरस्थित ह्याम्स अस्पतालले पनि बिरामी ल्याइदिने एम्बुलेम्स चालकलाई कमिशन दिन्छ । अस्पतालका ओपीडी इन्चार्ज कुमार घिमिरेले हामीलाई टेलिफोनमा रेट बताउँदै ‘लोकल ड्राइभरलाई ६००, बाहिरबाट ल्याउनेलाई रु.१ हजारसम्म दिन्छौं’ भने । आईसीयूमा बस्ने बिरामी ल्याइदिने चालकको फरक रेट रहेछ । घिमिरेले टेलिफोनमा भने, “ठीकै छ, बिरामी कति बस्छ त्यही अनुसार गरौंला ।”

‘कमिशन लिन्छौं’
एम्बुलेन्स चालक आलोक थापाले बिरामी पुरयाईदिएबापत अस्पतालबाट कमिशन लिने गरेको लुकाएनन् । उनले बिरामी ल्याइदिन भनेर काठमाडौंको स्टार, सिटी सेन्टर, मेघा, बयोधा र अन्तर्राष्ट्रिय बालमैत्री, शिवज्योतिलगायतका अस्पतालबाट फोन आइराख्ने कुरा पनि खुलाए । “मेघा अस्पतालबाट त बिरामी ल्याउनुस् भनेर दिनदिनै फोन गर्छन्”, थापा भन्छन्, “फोनमा पाँचदेखि पन्ध्रहजारसम्म दिन्छौं भन्दै फकाउँछन्, तर कुनैले पाँच हजारसम्म त कुनैले तीन/चार हजार दिन्छन् ।”

अस्पताल सञ्चालकहरूको संस्था ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’ का कोषाध्यक्ष डा. राजेशकिशोर श्रेष्ठ भन्छन्, “यो अनैतिक काम हो । यस्तो काम गरेको भए सम्बन्धित अस्पताल व्यवस्थापन जिम्मेवार हुन्छ ।” नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा चाहिं अस्पताल व्यवस्थापनको अनुचित कामबारे काउन्सिलले नहेर्ने तर चिकित्सकहरू यस्तो काममा संलग्न भएको पाइए स्पष्टीकरण लिने बताउँछन् ।