काठमाडौं– लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा भेट गरी विश्वद्यिालयहरुमा गरिने नियुक्तिहरुमा आफ्नो संघको समेत प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।
संघका अध्यक्ष डा. उदय किशोर तिवारीको नेतृत्वको प्रतिनिधि मण्डलले विभिन्न विश्वविद्यालयहरु तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारीहरु नियुक्ति गर्न तथा स्वच्छ रुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानूनी व्यबस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो ।
प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै विश्वविद्यालयहरु राजनीतिक भागबण्डाका आधारमा होइन, निश्पक्षता र प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफु रहेको बताए । उनले योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयहरुमा नियुक्ति हुने विश्वास दिलाउँदै समान योग्यता हुनेहरुबीच पक्षपात नगरिने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीले जायज मागहरु पूरा हुन्छन् तर शिक्षण संस्थाहरु र अस्पताल जस्ता संस्थाहरुमा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता कामहरु गर्न नहुने र त्यस्ता कामहरु सरकारलाई सैह्य नहुने पनि बताए ।






