मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रारसहित ७ जना भ्रष्टाचारी ठहर

mid western university nepalकाठमाडौँ- मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार ठकेन्द्र गिरीलगायत सात जनालाई भ्रष्टाचारी ठहर गर्दै विशेष अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ ।

अदालतका न्यायाधीश भूपेन्द्रप्रसाद राई, पवनकुमार शर्मा र नरेन्द्रकुमार शिवाकोटीको इजलासले सो विश्वविद्यालयका रजिस्ट्रार गिरीसहित सात जनालाई भ्रष्टाचारी ठहर गरेको प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।

अदालतले सो उक्त विश्वविद्यालयका रजिस्ट्रार गिरीलाई रु छ लाख ८२ हजार जरिवानासहित एक वर्ष नौ महिना कैद सजाय सुनाएको छ भने कर्मचारी सुचन गौलीलाई रु तीन लाख १७ हजार जरिवाना र सात महिना कैद तथा कमल केसीलाई रु दुई लाख ७३ हजार जरिवानासहित सात महिना कैद सुनाएको छ ।

त्यस्तै गणेशबहादुर राउतलाई रु दुई लाख ९३ हजार जरिवानासहित सात महिना कैद, गगनसिंह बोहरालाई रु एक लाख ५८ हजार जरिवानासहित छ महिना कैद, पारसमणि गिरीलाई रु एक लाख ७८ हजार जरिवानासहित छ महिना कैद र जीवनकुमार थापालाई रु एक लाख ६०० जरिवानासहित छ महिना कैदको सजाय सुनाइएको छ ।

भ्रष्टाचारको अभियोग लगाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका १६ मध्ये उपकुलपति पदमलाल देवकोटासहित नौ जनालाई भने अदालतले सफाइ दिएको छ ।