मधेसको माग संविधान संशोधनबाट पूरा गर्नुपर्छ : गगन थापा

gagan-thapaमहोत्तरी- नेपाली काँग्रेसका युवा नेता गगन थापाले संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने बताउनुभएको छ ।

कार्यकर्ता भेटघाटका लागि बुधबार महोत्तरीको बर्दिवास आउनुभएका नेता थापाले केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी पनि गर्नुभयो ।

मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको युवा नेता थापाले बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले एमालेसँग सरकारमा जाँदाको बाध्यताले काँग्रेसले केही गल्ती गरेको बताउँदै काँग्रेसले त्यो गल्ती सच्याएर अघि बढेको पनि बताउनुभयो ।

त्यस्तै, सोही कार्यक्रममा सहभागी हुनुभएका काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको सरकार खिचडी सरकार रहेको प्रतिक्रिया दिनुभयो । रासस