
काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले उपेन्द्र यादव-महन्थ ठाकुरलाई प्रयोग गरेको आरोप लगाएका छन् ।
दाहालले भारतले राजनीतिक र सैन्य मोर्चालाई प्रयोग गरेर नेपाललाई विखण्डन वा सिक्कीमिकरण गर्ने षड्यन्त्र गरेको आरोप लगाए । आफ्नै निवास लाजिम्पाटमा मंगलबार क्रान्तिकारी पत्रकार संघको केन्द्रीय कार्यालयको विस्तारित वैठकलाई सम्बोधन गर्दै प्रचण्डले भारतले निकै परसम्मको खेल खेलिरहेको बताए । यसका लागि भारतले उपेन्द्र यादव-महन्थ ठाकुरलाई राजनीतिक मोर्चा अर्थात पोलिटिकल विङ र सीके राउत र जयकृष्ण गोइतहरुलाई मिलिटरी विङका रुपमा प्रयोग गरेको प्रचण्डको विश्लेषण छ ।
दाहालले उपेन्द्र महन्थदेखि सीके राउतसम्म एउटै शक्ति केन्द्रबाट परिचालित भएको भन्दै फरक नठान्न आग्रह गरे ।
नाकाबन्दीका कारण नेपाललाई मात्र नभई भारतलाई पनि ठूलो घाटा भएको र उसलाई चौतफी दबाव रहेको समेत बताएका छन् ।






