जाडो थेग्न नसकेपछि भत्किएकै घरमा फर्कंदै भूकम्पपीडित

Nepal-earthquickभक्तपुर- शिविरमा जाडो थेग्न नसकेपछि भक्तपुरका विभिन्न ठाउँका अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित शिविर छाडेर भत्काएकै घरमा फर्किन थालेका छन् ।

जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूकम्पपीडित टेन्ट र पालमा जाडो थेग्न नसकेपछि शिविर छाड्दै भूकम्पले भत्किएकै घरमा फर्कन थालेका हुन् ।

भूकम्पपीडित भत्किएका घरको माटो पन्छाएर पुरानै घरको इँटा, झ्याल ढोकाको प्रयोग गरेर छाप्रो बनाएर बस्न थालेका छन् । कतिपय भने भत्किएको घरलाई छोट्याएर एक तलामात्र राखेर त्यसैमा जोखिम मोलेरै बस्न थालेका छन् ।

भक्तपुर नगरपालिकाका अनुसार जाडो बढेपछि भक्तपुरका ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितले आफू बस्दै आएको शिविर छाडेका छन् ।

शिविर छाड्नेमध्ये आर्थिक उपार्जनमा फर्किएकाले कोठा भाडामा लिएर बस्न थालेका छन् । भूकम्पपछि कोठा भाडासमेत बढेपछि भाडा तिर्न नसक्नेहरु शिविरमै बसेका छन् भने धेरैजसो पीडित आफ्नो पुरानो थातथलोमै फर्किन थालेका हुन् ।

भूकम्प आएपछि सबैभन्दा बढी पीडित बसेको जगातीस्थित महेश्वरी खेल मैदानको शिविर अहिले पूर्ण रुपमा खाली छ ।

यहाँका भूकम्पपीडितले शिविर छाडेपछि यहाँको टेन्ट र पालसमेत झिकेर खेल मैदान पूर्णरुपमा खाली बनाइएको छ । महेश्वरीको शिविरमा बस्ने माइला श्रेष्ठले दुई महिनाअघि नै शिविर छाडेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “जाडो बढेपछि सक्नेले कोठा भाडामा लिएर बस्न थाले, नसक्नेले भूकम्पले भत्काएको आफ्नै घर मर्मत गरेर बस्न गए, हामीले पनि भत्किएकै घरको इँटा माटो मिलाएर सानो टहरा हालेर बस्यौँ, अहिले महेश्वरीको शिविर सबैले छाडिसके ।”