काठमाडौँ- उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र जनताले महसुस गर्ने गरी विद्युत् भार कटौती अन्त्य गर्न यो महिनाभित्रै ऊर्जा सङ्कट निवारण काल घोषणा गर्ने बताउनुभएको छ ।
आज राजधानीमा आयोजित अन्तर्क्रियामा उहाँले त्यसमा सकिन लागेका आयोजनालाई तीव्रताका साथ अघि बढाउने, आवश्यक इन्धन उपलब्ध गराउने, ठूला जलाशययुक्त आयोजना निर्माण योजनालाई अघि बढाउने, ट्रान्समिसन लाइन निर्माण र सौर्य ऊर्जा उत्पादनको योजना समेटिएको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो– “२५० मेघावाट विद्युत् उत्पादन अन्तिम चरणमा छ । त्यसबाट हिउँदमा १०० मेघावाट उत्पादन हुन्छ । बिग्रेको आयोजना मर्मत हुँदा १०० मेघावटा थपिन्छ र ढल्केबर–मुजफरपुर प्रसारण लाइन बनेपछि १०० मेघावाट थपिन्छ ।
योसँगै सोलारमा जाँदा अर्को वर्षसम्म एक हजार २०० मेघावाट विद्युत् उत्पादन गर्न सकिन्छ । यसबाट अर्को वर्षसम्ममा जनताले महसुस गर्नसक्ने गरी विद्युत् भार कटौती अन्त्य गर्न सकिन्छ ।






