सदभावनाको अलग्गै आन्दोलन

rajendra mahatoकाठमाडौं- सद्भावना पार्टीले अलग रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

तराई मधेसमा जारी आन्दोलनलाई बल पुर्‍याउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको महासचिव मनीषकुमार सुमनले बताउनुभयो । ‘हाम्रो कार्यक्रम मधेसी मोर्चालाई सहयोग गर्ने हो’, उहाँले भन्नुभयो, ‘हाम्रो कार्यक्रममा मधेसी मोर्चाको पनि समर्थन रहन्छ ।’

सदभावनाले पुस १९ गते सहिदको आत्माको चिर शान्तिको कामना गर्दै मन्दिर, मस्जिद, गिर्जाघर तथा धार्मिक तथा सार्वजनिक स्थलमा प्रार्थना सभा गर्ने भएको छ ।

सदभावना पार्टीले पुस २० गते दिउँसो १२ देखि १ बजेसम्म मौन ब्रत गर्ने, २१ गते आन्दोलनका नारासहित भित्ते लेखन गर्ने, २२ गते साइकल, मोटरसाइकल, रिक्सा र ठेलागाडीमा कालो झण्डा प्रयोग गर्ने तथा मधेस आन्दोलनको समर्थमा दुई इन्चको कालोपट्टि बाँध्ने कार्यक्रम घोषणा गरेको छ ।

पुस २३ गते मधेसमा सहिदको सम्झनामा मैनबत्ती बाल्ने, २४ गते सरकारको दमनबारे विश्व समूदायलाई जानकारी गराउन चिठ्ठी, एसएमएस, इमेल, फेसबुक मेसेन्जर, ह्वाट्स एप, भाइबल र वी च्याटबाट जानकारी गराउने कार्यक्रम छ ।

२५ गते संविधानमा हस्ताक्षर गर्ने कांग्रेस, एमाले, एमाओवादी, राप्रपासहितका दलका सांसदलाई पार्टी छाडेर आन्दोलनमा सहभागी हुन पुस ८ गते पठाइएको पत्रको समर्थनमा हस्ताक्षर अभियान चलाउने, २६ गते मधेस दमनविरुद्ध हस्ताक्षर अभियान चलाउने र २७ गते मधेस आन्दोलन १५० दिन पुगेको अवसरमा एक दिन उपवास बस्ने कार्यक्रम सदभावना पार्टीले सार्वजनिक गरेको छ ।