एक महिनापछि सुरु हुने सागको तयारी फितलो

keshab bista

काठमाडौं- समयमै बजेट उपलब्ध नभएका कारण भारतमा एक महिनापछि सुरु हुने १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारी फितलो बनेको छ।

सागका लागि अन्य सहभागी राष्ट्रले खेलाडीलाई गतिलो तयारी र वैदेशिक प्रशिक्षण गराइरहेको बेला नेपालको तयारी भने बजेटको मारमा परेको छ।‘समयमै बजेट नपाएका कारण हामीले सोचेजस्तो तयारी गर्न सकेका छैनौं। समयमै बजेट पाएको भए तयारी पनि छुट्टै हुन्थ्यो’, राखेपका सदस्यसचिव केशवकुमार विष्टले भने।

साग तयारीका लागि आवश्यक कार्यक्रम र त्यसको योजनासहित करिब डेढ महिनाअघि नै सम्बन्धित मन्त्रालयलाई जानकारी गराइए पनि समयमै बजेट उपलब्ध नहुँदा तयारीमा असर परेको उनले बताए।

राखेपले सागमा सहभागी हुने विभिन्न खेलका राष्ट्रिय संघको सक्रियतामा जिल्ला, क्षेत्रहुँदै अन्तिम चरणको खेलाडी छनोट गरिरहेको छ। बजेटका कारण जिल्ला, क्षेत्र र केन्द्रका छनोट प्रतियोगिता उधारोमा गरिँदै आएको छ। अधिकांश खेलको छनोट सकिए पनि खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लगिएको छैन।