ठमेल चौबिसै घन्टा खुल्ला हुने

thamelकाठमाडौँ- राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेल अबदेखि चौबिसै घन्टा खुल्ला हुने भएको छ ।

पर्यटकको सुविधालाई दृष्टिगत गर्दै आउँदो सन् २०१६ अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यादेखि ठमेल क्षेत्रका सबैखाले सेवालाई चौबिसै घन्टा खुलाइने भएको हो ।

ठमेल पर्यटन विकास परिषद्ले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र महानगरीय प्रहरी आयुक्तको कार्यालयको सहकार्यमा ठमेलमा चौबिसै घन्टा पर्यटकले सेवा पाउने गरी व्यवस्था मिलाएकोे छ ।

विदेशी पर्यटकले खर्च गर्ने तथा मनोरञ्जनको वातावरण नभएको गुनासोलाई मध्यनजर गरी ठमेललाई चौबिसै घन्टा सञ्चालन गर्न लागिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकको आवश्यकताअनुसार ठमेलका डिस्को र बार बिहान ४ बजेसम्म र होटल तथा रेस्टुराँ बिहान २ बजेसम्म खुल्ला गरिनेछ ।

पर्यटक तथा व्यवसायीको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको र ठमेलका मुख्य सडकमा सिसी क्यामेरा जडान र सोलार बत्ती राख्ने काम धमाधम भइरहेको परिषद्ले जनाएको छ । परिषद्को विवरणअनुसार ठमेल क्षेत्रमा एक हजार घरमा होटल, रेस्टुराँ, ट्राभल, ट्रेकिङलगायत गरी करिब चार हजार व्यावसायिक केन्द्र छन् । नेपाल घुम्न आउने जम्मा पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा जाने गर्छन् ।