४० जना नेपाली मलेसियामा अलपत्र

रोजगारीका सिलसिलामा मलेसियामा पुगेका धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपाली विगत ५७ दिनदेखि मलेसियामा अलपत्र परेका छन् । गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट बिमिराबोटका राजन थापा, भकिम्ली–२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी र बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरा भन्ने ठाउँमा ५७ दिनदेखि भोकभोकै रहेको मलेसियाबाट टेलिफोनमार्फत राजन थापाले जानकारी दिनुभएको छ ।
बुधबार बिहान मोबाइल नम्बरमार्फत राससलाई थापाले जानकारी गराउँदै आफूहरुको अवस्था अत्यन्त नाजुक रहेको र उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गर्नुभएको हो ।
हामी करिब दुई महिनादेखि अर्काको देशमा काम नपाएर अलपत्र परेका छौँ, साथमा पैसा नहुँदा भोकभोकै बस्नुपरेको छ, हामी आएको मेनपावर कम्पनीमा खबर गर्दा कुनै प्रतिक्रिया दिँदैन, अब हामीले के गर्ने ?” थापाले भन्नुभयो ।
सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकबहादुर थापामार्फत मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले काम नदिएको उनीहरुको गुनासो रहेको छ ।