प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्रका महासेनानी जननायक विश्वेश्वरप्रसाद कोइरालाले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरणका निम्ति अवलम्बन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँले देखाएको बाटोमा हिँड्न सम्पूर्ण राजनीतिक दल एवम् नेपाली जनतासँग आग्रह गर्नुभएको छ ।
उनन्चालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज बिहान राजधानीमा आयोजना गरेको चियापान कार्यक्रमपछि संवाददातासँग सङ्क्षिप्त कुरा गर्दै उहाँले मुलुकको शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकासका निम्ति संविधान अपरिहार्य भएको बताउँदै भन्नुभयो–“राष्ट्रिय एकता तथा मेलमिलापबाटै लोकतन्त्रलाई स्थायित्व दिन सकिन्छ, सबै दलका नेताले नयाँ संविधान निर्माणका खातिर सहयोग एवम् समर्थन गर्नेमा म विश्वस्त छु ।”
ट्रस्टका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले मुलुकको चौतर्फी विकास र लोकतन्त्रको स्थायित्वका लागि बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति देश विकासको माध्यम बन्नसक्ने बताउँदै मुलुकमा सक्रिय सबै दलका नेताले त्यसलाई प्राथमिकता दिनुहुन्छ भन्नेमा आफूलाई संशय नभएको स्पष्ट गर्नुभयो ।
संविधानलेखनसहित विकास–निर्माणका काममा सबैको सहयोग र समर्थन प्राप्त हुनेमा आफू ढुक्क रहेको दोहो¥याउँदै प्रधानमन्त्रीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसले मुलुकलाई समृद्धि र विकासको बाटोमा डो¥याउन प्रेरणा मिल्ने बताउनुभयो ।
बिपीलाई एसिया र युरोपका धेरै नेताले लोकतन्त्रका पर्यायका रूपमा प्रस्तुत गरेका तथा अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनका शीर्ष व्यक्तित्वहरूले समस्या प्रस्तुत गर्ने नभई तिनको समाधान दिने महान् नेता बिपीलाई गुमाउनु परेकामा गहिरो दुःख प्रकट गरेका सन्दर्भ सुनाउँदै अध्यक्ष कोइरालाले गरिब मुलुकले झेल्नु परेका समस्याको निदानका निम्ति दिने समाधान विश्वका धेरै नेताले आज पर्यन्त सम्झिइरहेका बताउनुभयो ।
विश्वमानचित्रमा अति सानो मुलुक नेपाललाई बिपीले चिनाउनुभएको तथा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको लागि उहाँले निर्वाह गर्नुभएको भूमिका नेपाली मात्र नभई एसिया र युरोपका नेताका निम्ति प्रेरणाको स्रोत भएको अध्यक्ष कोइरालाले बताउनुभयो । गरिबलाई आत्मनिर्भर, स्वावलम्बी एवम् उन्नयनको मार्गमा अग्रसर हुन प्रेरणाका पुञ्जका रूपमा बिपीले गर्नुभएका काम सधैँ स्मरणीय, मननीय र पथप्रदर्शकका रूपमा रहिरहने उहाँको कथन थियो ।
मुलुकमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै समुन्नत नेपाल निर्माण गर्न नेपाली जनता र सबै राजनीतिक दलले प्रण गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री कोइरालाले गरिबी निवारण, रोजगारी र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले कोशलराज पौडेलले बिपीको राजनीतिक, साहित्यिक एवम् समग्र नेपाली समाजको उन्नयनका निम्ति निर्वाह गर्नुभएको भूमिकामा केन्द्रित रहेर रचना गर्नुभएको ‘विश्वेश्वरप्रसाद कोइराला’ महाकाव्य पनि विमोचन गर्नुभयो ।
त्यसअघि प्रधानमन्त्री कोइरालाले महामानव बिपीको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा ट्रस्टका पदाधिकारी, नेपाली काँग्रेस तथा भ्रातृ सङ्गठनका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
बिपीले देखाएको बाटोमा हिँडौं : प्रम






