गृहमन्त्रीको पद जान पनि सक्छ !

Shakti-basnetकाठमाडौं- भूकम्पपछिको पुनर्निर्माणको अवलोकनका लागि एमाओवादी नेताहरुका छोराछोरीलाई चीन पठाउने निर्णयले एमाओवादीमा भूकम्प ल्याएको छ ।

पूर्व जानकारीबिना पार्टी अध्यक्ष प्रचण्डकै नातिनीहरु समेत संलग्न भएपछि यो विषयले ठूलो चर्चा पाएको हो । समाचारमा आफ्नो नाम समेत जोडिएपछि प्रचण्डले के आधारमा यस्तो निर्णय गरियो भन्दै गृहमन्त्री शक्ति बस्नेतलाई सोधेको प्रचण्ड सचिवालयले जनाएको छ ।

प्रचण्डले तत्काल निर्णय सच्याउन समेत गृहमन्त्रीलाई भनेका छन् । तर प्रचण्डले यसो भनिरहँदा भूकम्पछि पुनर्निर्माण भएको सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहरको ७ दिने अवलोकनका लागि टोली हिंडिसकेको छ । गृहमन्त्री बस्नेतले एमाओवादी नेताकै छोराछोरीको नाम प्रस्ताव गरेपछि यसले ठूलो रुप लिएको हो । भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र ववितासमेत छन्।

समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत प्रचण्डमाथि आलोचनाको ओइरो लागेपछि प्रचण्डले गृहमन्त्री बस्नतेलाई शुक्रबार बिहान लाजिम्पाट बोलाएका थिए ।

एकपछि अर्को विवादमा तानिएका गृहमन्त्री बस्नेतलाई अन्तिमपटक चेतावनी दिने तयारी एमाओवादीले गरेको छ । स्रोतका अनुसार गृहमन्त्रीले स्थितिलाई सुधार नगरे फिर्ता बोलाउने तयारी एमाओवादीको छ । आफन्तलाई निजी सचिवालयमा राखेको, कालोबजारी नियन्त्रण गर्न नसकेको, पार्टीले तयार गरेको आचारसंहिता पालना नगरेको विषय पटक पटक उठ्दै आएको छ ।