छानबिन रोक्दिनः लोकमान

lokman singh karki
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारको जालोलाई तोड्न ठूलो झट्का, जोड र अदम्य साहसको आवश्यकता रहेको बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आज आयोगको केन्द्रीय कार्यालय टङ्गालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार हल्काफूल्का झट्काबाट अन्त्य हुन सक्दैन, यसका लागि ठूलो झड्का, ठूलै जोड र अदम्य साहसको आवश्यकता पर्दछ ।”

मुलुकमा नेपाली जनताले अपेक्षा गरेअनुरुपको अनुसन्धानको कार्य अघि बढिसकेकाले त्यो नरोकिने बताउँदै उहाँले भन्नुभयो, “त्यसका लागि जुनसुकै चुनौती र परिणति सहन र भोग्न परेपनि म तयार छु, विवेक र काममा अडिग छु, दावाका साथ भन्छु, कसैको मानमर्दन गर्ने गलत काम गरेको छैन ।”

समाजमा विकृतिजन्य कुरा जन्माउने, आर्थिक विकासको अनुभूति प्राप्त हुन नदिने मुख्य कुरा भ्रष्टाचार, सामाजिक भेदभाव र कुशासन नै हुन् भन्दै प्रमुख आयुक्त कार्कीले राजनीतिक तहमा भएको भ्रष्टाचारको कहिले छानबिन हुन्छ भन्ने पक्षले नै आयोगले राजनीतिक तहमा अनुसन्धानमा प्रवेश गर्न खोज्दा विरोध गरेका छन्, तर आयोगले त्यसलाई कुनैपनि हालतमा नरोक्ने प्रतिबद्धता जनाउनुभयो ।

सम्मान र विधिसम्मत ढङ्गबाट पछिल्लो समय केही व्यक्तिलाई अनुसन्धानको क्रममा बोलाइएको जानकारी दिँदै उहाँले तीमध्ये कसैलाई पनि छापामारेर अपमान गरेर अनुसन्धानको लागि ल्याइएको होइन भन्नुभयो ।

भ्रष्टाचारको आयतनलाई व्याख्या गर्न निकै कठिन हुने बताउँदै उहाँले आयोगले आग्रह र पूर्वाग्रहका आधारमा होइन, विधि प्रक्रिया पूरा गरेर अनुसन्धानका मूल्यमान्यताका आधारमा त्यसबाट आउने परिणामलाई सयौँ पटक सोचेर मात्र कारबाहीको दायरा अघि बढाउँदै आएको छ, भन्नुभयो ।

“विधि र विधिसम्मत हिसाबले काम गर्नका लागि म र आयोग सधैँ तयार छौँ, अनुसन्धानलाई अघि बढाउने काममा कसैसँग सम्झौता गर्दिनँ, बरु यसको लागि कुनैपनि मूल्य चुकाउन तयार छु, देशको लागि जीवन समर्पित गरिसकेको छु”–प्रमुख आयुक्त कार्कीले भन्नुभयो ।

राष्ट्रसेवक निजामती कर्मचारीलाई इङ्गित गर्दै उहाँले भन्नुभयो, “नेपाली जनतालाई जबसम्म समानरुपले सेवा र सुविधा उपलब्ध गराउन सक्दैनौँ, तबसम्म सरकारले नेपाली जनताको नाममा समन्यायिकरुपमा सेवा दिएको हो भन्न र मान्न सकिन्न ।”

प्रमुख आयुक्त कार्कीले भन्नुभयो, “अख्तियार तपाईँहरुको मित्र हो, तपाईँहरुको मनसाय राम्रो हो भने कामगर्ने क्रममा कहीँ कतै कमजोरी भए पनि डराउनु पर्दैन ।”