महासचिवमाथि गम्भीर आरोप, बोलेन एमाओवादी

krishna bahadur maharaकाठमाडौं- पार्टीका जिम्मेवार नेताहरुलाई अख्तियारले पत्र काटेर छानविन गर्न थालेपछि प्रमुख राजनीतिक दलभित्र हंगामा मच्चिएको छ ।

पत्र काटेकामध्ये एमाले र एमाओवादीका बढी छन् । एमालेका शीर्ष नेताहरुले नै अख्तियारले रिसिईबी साँधेको प्रतिक्रिया दिएको छ भने एमाओवादीका नेताहरु भने चुपाचाप छन् ।

एमाओवादीबाट पार्टी महासचिवसमेत रहेका कृष्णबहादुर महरा, सांसद रवीन्द्रप्रताप शाह, ल्हारक्याल लामा र पूर्वमन्त्री रामकुमार श्रेष्ठ पनि परेका छन् ।

महरामाथि विवादास्पद एवम् धार्मिक व्यवसायी अजय सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट प्राइभेट लिमिटेड कम्पनीलाई दुरसंचार लाइसेन्स दिँदा अनियमितता गरेको अख्तियारको बुझाई छ ।

पाँच बर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने त्यसका लागि पाँच बर्षमा २२ लाख रुपैयाँ तिर्नुपर्ने गरि लाइसेन्स दिएका थिए । त्यसैगरि महरा संचार मन्त्री भएकै बेला नेपाल टेलिकमले १० बर्षमा लाइसेन्स नवीकरण २० अर्व तिर्ने नीति बनेको थियो । दूरसंचार प्राधिकरणभित्र पनि लाइसेन्स वितरणमा अनियमितता भएको प्रश्न उठेको छ । अहिले हेलो नेपाल नामक टेलिफोन कम्पनी सुमार्गीले त्यही लाइसेन्सबाट चलाएका छन् ।

महासचिवमाथि गम्भीर आरोप लाग्दा पनि एमाओवादीका कुनै नेताले प्रतिक्रिया दिएका छैनन् । जारी केन्द्रीय समितिको बैठकमा पनि यसबारे कुनै निर्णय नभएको प्रवक्ता दीनानाथ शर्माले लन्डननेपालन्यूज डट कमलाई जानकारी दिए ।