काठमाडौं- मधेसवादी दलहरुका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल गर्न आज त्रिपक्षीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाको बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्ने बैठकमा मधेसी मोर्चाले राखेका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल हुनेछ ।
यसअघि गत सोमबार भएको त्रिपक्षीय बैठक भने निष्कर्षविहीन भएको थियो । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेता सहभागी हुने बताइएको छ । तर मधेसी मोर्चामा आबद्ध दलका अध्यक्षहरु भने बैठकमा सहभागी नहुने भएका छन् ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरु धनुषाको ढल्केबरमा हुने कार्यक्रममा सहभागी हुने भएकाले बैठकमा सहभागी नहुने जनाइएको छ । मोर्चाका शीर्ष नेता सहभागी नभए पनि दोस्रो तहका नेताहरुसँग बैठक गर्ने तयारी भइरहेको छ ।
मोर्चासँगको बैठकअघि प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । बैठकमा मधेसी मोर्चाले उठाउँदै आएका ११ बुँदे मागका बारेमा छलफल हुने र सकेसम्म साझा धारणा बनाउन प्रयास गरिने नेताहरुले बताएका छन् ।
यसअघि हिजो पनि सत्तारुढ दल नेकपा एमाले र प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेसी मोर्चाका मागबारे पार्टीमा आन्तरिक छलफल गरेका थिए । दुबै दलले मोर्चाका मागबारे लचकताका साथ प्रस्तुत भएर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
मधेसी मोर्चाका नेताहरुले पनि बैठकमा आफूहरु लचकताका साथ प्रस्तुत हुने बताएका छन् ।






