प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ गठबन्धनका सांसदले प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावक र नेकपा माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराइएको हो ।

महाअभियोग प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।

महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको, न्यायपालिकाको गरिमा जोगाउन नसकेको, प्रहरी प्रमुख नियुक्ति प्रकरणमा हस्तक्षेप गरेकोलगायतका आरोप लगाइएको छ ।

यस्तै, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गरेको, कार्यविधि र कानुनको पालना नगरेको, शक्ति पृथकीकरणको सिद्धान्तमा आघात पुर्‍याएको, सर्वोच्च अदालतमा गुटबन्दी गरेको, खराब आचरण गरेकोलगायतका आरोप पनि कार्कीमाथि लगाइएको छ ।

महाअभियोग दर्ता भएसँगै कार्कीको प्रधानन्यायाधीश पद स्वतः निलम्बनमा परेको छ ।

कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गर्न थालेपछि कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।

प्रस्ताव दर्ता भएसँगै राष्ट्रपति कार्यालयमा पत्र पठाएर कार्की निलम्बनमा परेको जानकारी गराइएको छ । कार्की आगामी जेठ २४ गते अनिवार्य सेवानिवृत्त हुँदै थिइन् ।

नेपालको इतिहासमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो नै पहिलो घटना हो ।