काठमाडौँ- उन्नाइस वर्षमुनि (यु–१९) लिग क्रिकेट प्रतियोगिताअन्तर्गत यु–१९ रातो टोलीले यु–१९ निलो टोलीलाई ६६ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको रातोले निर्धारित ५० ओभरको खेलमा पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २६५ रन बनायो । जवाफी ब्याटिङ्मा आएको निलो ४४.२ ओभरमै सबै विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो ।
रातोलाई सहज जित दिलाउन अविजित रहेका सतिश भगतले ६१, कप्तान राजु रिजालले ४८, अर्का अविजित सुमन घिमिरेले ३७, योगेन्द्र कार्की र अविनाश कर्णले २७÷२७ तथा दीपेश चन्दले १० रनको योगदान गरेका थिए ।
त्यस्तै, सन्दीप लामिछानेले ३, सागर भण्डारी, पवन सर्राफ र अर्जुन साउद २÷२ तथा आदिल खानले १ विकेट लिएपछि निलो टोली पराजित भयो ।
निलोका सुदीप पौडेलले ४०, आशिफ शेखले ३४, सन्दीप सुनारले २९ र पवन थापाले २७ रन तथा इर्शाद अहमदले ३ विकेट लिए पनि हार टरेन ।
आजको जितले ४ अङ्क बनाएको रातो टोली लिगको शीर्ष स्थानमा छ भने हरियो र निलो टोलीले २÷२ अङ्क जोडेका छन् ।
यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी जनवरीमा बङ्गलादेशमा हुने यु–१९ विश्वकपका लागि बन्ने टोलीमा ठाउँ बनाउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।







